नाम्खाको महाबौद्ध मावि सञ्चालन तर पिसिआर अनिवार्य

हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको केन्द्रमा रहेको एक मात्र माध्यामिक विद्यालय महाबौद्ध माविमा पूर्व निर्धारित सूचना अनुसार कात्तिक १२ गतेबाट सञ्चालनमा आएको छ । तर पनि बाहिरबाट आउने विद्यार्थीहरूले अनिवार्य पिसिआर गरेको हुनु पर्नेछ ।

गत चैत्र महिनाबाट कोरोना महामारीका कारण वन्द विद्यालय बीचमा एक पटक एक महिनाका लागि सञ्चालनमा आएको हो । हुम्लामा पनि कोरोनाका बिरामी देखिएकाले विद्यालय पुनः बन्द गरिएका थिए ।

अब असोज कात्तिकपछि हिमाली भेगमा विद्यालय सञ्चालन गर्न नसकिने भएकाले पनि यो वर्षको शैक्षिक सत्रमा असर पर्ने देखिएको छ । विद्यालय र विद्यार्थीहरूका लागि जानकारी आदानप्रदान गर्नका लागि पनि विद्यालय सञ्चालन गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिएका छन् ।

यो विद्यालयमा हाल कक्षा ८देखि १२सम्म सञ्चालन हुने नाम्खा गाउँपालिकाको एक मात्र विद्यालय हो । अब ११ र १२ कक्षा तथा एसईई दिने विद्यार्थीहरूका लागि पनि ध्यान दिएर विद्यालय सञ्चालनमा ल्याइएको छ ।

कोरोना महामारीका लागि बच्न र बचाउनका लागि विभिन्न प्रकारका सुरक्षा मापदण्डलाई कडाईका साथ प्रयोग गरिने छ । विद्यार्थी तथा शिक्षकहरूले अनिवार्य मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य सुरक्षाका कुराहरू अपनाउनु साथै बाहिरबाट आउने विद्यार्थीहरूले अनिवार्य पिसिआर गर्नु पर्ने जानकारी महाबौद्ध माविका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले बताएका छन् ।

यो विद्यालयको पठनपाठनको अवस्था हेरेर नाम्खा गापाभरीका अन्य विद्यालहरू पनि छिट्टै सञ्चालनमा आउने तयारी भएको छ । हाल हुम्लाको नाम्खा गापा ग्रीन जोनमा रहेको छ ।

Loading...