ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती

काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।

डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । त्यसैगरी उनकै निकट रहेका कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र अर्का निकटका नेता लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यद्यपि उनीहरुको सपथग्रहण भने भोलि मात्रै राखिएको छ ।

तीन जना नेताहरुलाई मन्त्री बनाउनुका साथै प्रधानमन्त्री ओलीले केही मन्त्रिको जिम्मेवारी हेरफेर पनि गरेका छन् । ओलीका विश्वासपात्र मानिएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई ओलीकै अर्का विश्वासपात्र गोकुल बास्कोटाले राजिनामा दिएपछि खाली रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा तानेका छन् । त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालयमा तानेका छन् । यसअघि यसरी जिम्मेवारी नदिएर राखिनु वा हटाएर कुनै मन्त्रालयको जिम्मेवारी नदिँदा विना विभागीय मन्त्री भनिन्थ्यो । तर, यसपटक पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मन्त्री भनिएको छ । नयाँ थपिएका मन्त्रिहरु थप्नेबारे निर्णय गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि त्यसलाई अनुमोदन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति समेत जारी गरिसकिएको छ । साथै राष्ट्रपति कार्यालयले उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत राखिसकेको छ ।

प्रधानमन्त्री ओलीले यत्रो निर्णय गर्दा पार्टीमा भने कतै निर्णय पनि नगराएको र सरसल्लाह नगरेको खुल्न आएको छ । प्रधानमन्त्री ओलीले थपेका तीनै जना उनकै गुटका नेताहरु हुन् ।

पार्टीमा मन्त्रिपरिषद हेरफेर गर्नेबारे छलफल चलिरहेको र पछिल्लो समय प्रधानमन्त्री ओलीले पनि अबदेखि पार्टीमा सन्तुलन मिलाएर काम गर्नेबारे भेटघाटमा बताइरहेका बेला फेरि अकस्मात उनले सबैलाई चक्मा दिएका छन् । यसअघि उनले युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार बनाउँदा र लगत्तै अमेरिकाको राजदुत बनाउँदा पनि पार्टीका नेताहरुलाई यस्तै चक्मा दिएका थिए । त्यसपछि पार्टीमा व्यापक हल्लीखल्ली भएको थियो । ततपश्चात ओली पार्टीका नेताहरुलाई अब मिलाउने भन्दै कूलडाउन हुन खोजेको भए पनि उनले फेरि अर्को चक्मा दिएका छन् ।

स्रोतका अनुसार प्रम ओलीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा पनि पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायत सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म पाएका थिएनन् । त्यसैगरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थाहा दिइए पनि उनको सहमति नै नलिएर ओलीले यो काम गरेको बुझिएको छ ।

पार्टीका नेताहरुले स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावको पूर्णतः बेवास्ता गर्दै मनपरी ढंगबाट अघि बढेको आरोप लगाएका छन् । साथै नेताहरुले ओलीको यो कदम आपत्तीजनक रहेको पनि बताएका छन् । यसरी ओली झन्पछि झन् किन निरंकुश र पूरै आक्रामक बनेका छन भनेर आश्चर्य पनि व्यक्त गरिरहेका छन् ।

Loading...