चीनसँग लड्न भारतले नेपालीलाई अघि सार्दैछ, गोरखा भर्तीकेन्द्र तत्काल बन्द गर्नुपर्छ

लद्दाखमा ४ हजारको संख्यामा गोर्खा सैनिक पठाइएको भनिएको छ । भारतले गोर्खा सैनिक नै युद्ध मैदानमा पठाउनुको मुख्य कारण के होला ?

भारतले जहाँ पनि अफ्ठ्यारो, गाह्रो, साह्रोमा गोर्खा सेनाको प्रयोग गर्दै आएको छ । त्यो पनि अफ्ठ्यारो ठाउँ हो । गोर्खालीलाई अगाडि पठाउने काम गरिरहेको छ । उसका सेना पनि मरिरहेका छन् । तर मरे पनि नेपाली मरुन् भन्ने सोच हुनसक्छ ।

तपाईंलाई यो भारतको कस्तो रणनीति हो भन्ने लाग्छ ?

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा वार्ता भयो । अहिले भिडन्त पनि भइराछ, मनमुटाव पनि भइराछ, वार्ता पनि गरिराछन् । उनीहरुकोबीचमा धेरै लामो समयदेखि सीमाकै कारण झडपहरु भइरहेका छन् । यो निरन्तर छ । सीमा समस्या समाधान नहुन्जेल यस्तो भइरहने छ ।

भारत—चीन सीमामा नेपाली पठाएपछि यो युद्ध चीन र नेपालबीचको जस्तो त देखिँदैन ?

नेपाल र चीनबीचको युद्ध भएजस्तो होइन । गोर्खा भर्ती नेपालको विरुद्धमा प्रयोग नहुने तर अरुको विरुद्धमा प्रयोग हुने सम्झौता बमोजिम नै गरिएको हो । गोर्खा सैनिक प्रयोग गरेको यो पहिलो पटक पनि होइन । नेपाल पो भारत–चीनको लडाइमा तटस्थ बस्यो, गोर्खा सैनिक त प्रयोग गर्यो नि । आफ्ना सेना हुन् । भारतले पहिले पनि प्रयोग गरेको थियो । अहिले पनि गर्यो । भोलि पनि गर्ने नै छ । मरे पनि नेपाली मरुन् भन्ने सोच हुनसक्छ । यसलाई नेपाल—चीनको युद्धका रुपमा चाहिँ बुझ्न मिल्दैन ।

यस्तो अवस्थामा लद्दाखमा गोर्खा सैनिक पठाउँदा सैनिक परिवार र सम्पूर्ण नेपालीलाई कस्तो मनोवैज्ञानिक असर पर्ला ?

सैनिक परिवार अर्काको देशमा गएर मर्दा खुसी हुने भन्ने त हुँदै भएन । तर जागीर छोड्न पनि सकेका छैनन् । सरकारले नै खारेज गर्ने हो नि यस्ता असमान र खराब सन्धीहरु । देशको स्वाभिमानलाई नसुहाउने सन्धीहरु खारेज गर्नुपर्छ । अहिलेको २१ औं शताब्दीमा पनि १९ औं शताब्दीको जस्तो परम्परा जारी राख्नु हुँदैन । गोर्खा सैनिक भर्ती तत्काल बन्द गर्नुपर्छ । 

गोर्खा सैनिक भर्ती बन्द गर्नुपर्छ त भन्नु भयो तर के यो सम्भव छ त ? 

नेपालले हाइटायम गोर्खा भर्ती बन्द गरिदिनुपर्छ । यो असंलग्न नीतिको विरुद्धमा छ । असल छिमेक नीतिको विरुद्धमा छ । छिमेकीहरुको विरुद्धमा नेपाली प्रयोग भइरहेका छन् । अब गोर्खा भर्ती बन्द गर्ने समय आइसकेको छ । यो कोलोनियल लिगेसी (औपनिवेशिक उत्तरदान) हो । अहिलेको युगमा यो अनुपयुक्त छ । यो खारेज गर्नुपर्छ । 

उनीहरुलाई फर्काएर नेपाली सेनामा नै भर्ना गर्नुपर्छ । यो सबैकोलागि उपयुक्त हुन्छ । पहिले पो जागीर थिएन । रोजगारीको अवसर थिएन । विकल्प थिएन र गोर्खा भर्तिमै जानु पर्ने बाध्यता पनि थियो अहिले त्यस्तो छैन । गोर्खा भर्तीमा भन्दा वैदेशिक रोजगारीमा जानेले धेरै कमाइ रहेका छन् । नेपालमै पनि धेरै रोजगारीका अवसर सिर्जना भएका छन् । यहीँ नयाँ नयाँ कलकारखाना खोलेर युवालाई रोजगारी दिने हो भने कोही पनि मर्न जाँदैन नि । अब विकल्प छैन भनेर तर्क गर्ने आधार छैन । 

नेपालले अब पनि पहिलेको बहादुरीको गाथा गाउने होइन । नेपालले असंलग्न र शान्तिप्रिय देश हुनको लागि आफ्ना नागरिकलाई विदेशी सेनामा पठाउनु र निरन्तरता दिनु ठीक छैन । अहिलेको वामपन्थी सरकारले यसलाई निरन्तरता दिनु सुहाउँदो कुरा पनि होइन ।

 
Loading...