कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्।

१५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो। त्यसपछि आमालाई संक्रमण देखिएको थियो। स्रोतका अनुसार यो परिवारका अरु चार जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु हाेम आइसाेलेशनमा छन् ।

मंगलबार राति मृत्यु भएका छोरामा अन्य रोगहरु थिएन। कोरोनाको लक्षण देखिएका अन्य दुईजनाको पनि मंगलबार राति ललितपुरमा ज्यान गएको छ। उनीहरुको थ्रोट स्वाब लिएर पीसीआर परीक्षण गर्ने काम भइरहेको छ।

धादिङका ४७ वर्षीय पुरुष र ललितपुरको सातदोबाटोकी ७० वर्षीया महिलाको मृत्यु भएको हो। पुरुष भदौ ९ गते र महिला भदौ १३ गते पाटन अस्पतालमा भर्ना भएका थिए।

Loading...