सरकारको आदेश नटेर्ने घोषणा गर्दै यी शैक्षिक संस्थाले सुरु गरे भर्ना अभियान

बुटवल । कोरोना महामारीका कारण विश्वभर शैक्षिक पठन पाठनको काम ठप्प छ । विकासमा ठूलो फड्को मारेका देशहरुमा पनि अहिले विद्यालय, कलेजहरु खुलेका छैनन । महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले नै सामाजिक दुरी कडाइपूर्वक लागु गर्न, भिडभाड नगर्न र मास्कको प्रयोग लगायतका अन्य आवश्यक सुरक्षाका उपायलाई लागु गर्न आह्वान गरेको छ । यस्तो भयावह अवस्थामा केही निजी स्कूल कलेजहरु भने कमाउ धन्दामा लागेका छन् । कतिपय विद्यालयहरु अभिभावकहरुलाई अनौपचारिक दवाव दिएर पैसा उठाउनतिर लागेका छन् भने कतिपय विद्यालयहरु पढाइ सुरु हुने अवस्था नभए पनि अनलाइनबाटै विद्यार्थी भर्ना गरेर पैसा उठाउनतिर लागेका छन् ।

वुटवल उपमहानगरपालिका स्थित योगिकुटिमा रहेको मणिमुकन्द कलेज, कपिलवस्तुको कपिलवस्तु मल्टिपल क्याम्पस र बुटवलको न्यु होराइजन माध्यमिक विद्यालय, रुपन्देहीको गोलोरियस कलेज लगायतले अनलाइन भर्ना खाेलेर विद्यार्थीहरुलाई भर्नाका लागि दवाव दिन थालेका छन् । यी शैक्षिक संस्थाहरुले सिट सीमित हुने र पछि भर्ना नपाउने भन्दै इसेवा लगायतका वालेटबाटै पैसा तिरेर भर्ना गर्न दवाव दिएका हुन् ।

सरकारले अहिले पनि विद्यालय तथा कलेजहरु खोल्नेबारे निर्णय लिएको छैन । करिव चार महिने लकडाउन खुकुलो बनाउँदा गत साउन १२ गते संघीय सरकारले भदौ १ गतेबाट भर्ना खोल्नसक्ने बताए पनि फेरि भाइरसको संक्रमण बढेपछि त्यो काम नगर्न सबै शैक्षिक संस्थाहरुलाई निर्देशन जारी गरिसकेको छ । तर, यी शैक्षिक सस्थाहरुले भने सरकारको निर्देशन नमान्ने भन्दै जवरजस्ती भर्ना खोलेका छन् । कतिपय विद्यालय सञ्चाकहरु सरकारलाई आफूहरुले ‘नुन’ दिएका कारण निर्देशन नमान्ने दावी समेत गर्न थालेका छन् ।

न्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्याय खुल्लम खुल्ला चुनौती दिँदै भन्छन, “हामी रोकिन्नौं  । हामीलाई मार पर्यो । सरकारलाई हामी नुन दिन्छौ । अब हामी विद्यालय चलाउँछौ । सरकारको आदेश हामी टेर्दैनौ ।”

त्यसैगरी मणिमुकन्द कलेजका प्राचार्य टुकराज क्षेत्री, न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्याय, कपिलवस्तु क्याम्पसका प्रमुख विनय पाण्डे, हिसान रुपन्देहीका सचिव तथा गोलोरियस कलेज, बुटवलका प्रिन्सिपल पुष्प घिमिरेले भर्नाको विज्ञापन सामाग्री नै बनाएर प्रचार प्रसार गरिरहेका छन् । उनीहरुले आफ्नो फेसबुक एकाउन्टमा भर्नाका सामाग्री पोस्ट गरेर इसेवाबाट पैसा तिर्न आह्वान पनि गरिरहेका छन् । हिसानका रुपन्देही सचिव तथा गोलोरियस कलेज खैरेनीका प्रिन्सिपल पुष्प घिमिरेले त केही दिन अगाडि हिसान रुपन्देहीको बैठक बसि भर्ना र रिजिस्टेसन अनलाइन फर्म गर्ने निर्णय नै गरिएको बताउँछन् ।

विश्वभर फैलिएको महामारीलाई ध्यान नै नदिई निजी विद्यालयहरुले जवरजस्ती यसरी भर्ना अभियान चलाइरहँदा राष्ट्रिय परीक्षा बोर्ड, वुटवलका प्रमुख रमाकान्त भण्डारी भने यस्तो गर्न नपाउने बताउँछन् । उनले अहिलेसम्म शैक्षिक संस्थाहरुका कामकार्य सुचारु गर्ने निर्देशन नआएको बताउँछन् ।

त्यसैगरी प्रदेश ५ को शिक्षा सामाजिक विकास निर्देशनालयका मनोज गैरे पनि यस्तो कुनै पनि निदेैशन अहिलेसम्म माथिबाट नआएकोले शैक्षिक संस्थाले भर्ना लिन नपाउने बताउँछन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरशिक्षा शाखा प्रमुख मित्रमणि खनाल भन्छन, “हामीलाई सरकारले पछिल्लो मन्त्री परिषद्को साउन १२ बैठक अनुसारको अनुसार भदौ १ बाट गर्न सकिने भनेर आएको थियो । तर, फेरि कोरोना फैलिएपछि साउन २६ गतेको बैठकबाट कुनै पनि गतिविधि नगर्ने भन्ने निर्देशन आयो । पछिल्लो निर्देशन अनुरुप हामीले स्थानीय तहमा सबैतिर सोही वमोजिम निर्देशन गरेका छौं । यदाकदा कतिपयले भर्ना गर्न थालेको भन्ने सुन्नमा आएपछि हामीले अनुगमन टिम पठाएर रोकिरहेका छौं । अहिले पनि त्यस्तो पाए आवश्यक कार्वाही अगाडि बढाउछौं बोर्डको बैठकमा लानेछु । बुटवल उपमहानगरपालिकाले त्यस्तो कुनै पनि गतिविधि नगर्न निर्देशन गरेको छ ।”

त्यसैगरी जिल्ला शिक्षा समन्वय ईकाई समिति रुपन्देही प्रमुख दिपेन्द्र ढकाल महामारीका बेला भर्ना लिने लगायतका गतिविधि गरिए र त्यसमाथि कसैले उजुरी गरेमा त्यस्ता शैक्षिक संस्थामाथि कारवाही गर्ने बताउँछन् ।

यतिबेला कोरोना महामारी अनियन्त्रित बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको र विकासमा ठूलो फड्को मारेको देश अमेरिका लगायतका थुप्रै विकसित मुलुकहरु नै यस महामारीबाट नराम्ररी प्रभावित बनेका छन् । अमेरिकामा राष्टपति डोनाल्ड टम्पले सुरुमा विद्यालय खोल्ने लविङ गरे पनि पछि आफै यसकुराबाट पछि हटेका छन् । उनको आशय आएपछि कतिपय विद्यालय खुलेका थिए । तर, त्यहाँ विद्यार्थी र शिक्षकहरुमा कोरोना भाइरस फैलिएपछि तत्कालै ती शैक्षिकसंस्थाहरु बन्द गरिए ।

कोरोना महामारी आधुनिक मानव समाजको इतिहासमा देखिएको महासंकट हो । यसमहामारीबाट ६ महिनाकाबीच करिव ८ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वअर्थतन्त्रमा यसले ठूलो क्षति पुर्याएको छ । खासगरी श्रमले जिउने मानिसहरु धेरै ठूलो संकटमा परेका छन् । लामो समय लकडाउन हुँदा र आर्थिक गतिविधि तथा आयआर्जनका कामहरु सूचारु नहुँदा मान्छेहरु खान नै नपाउने स्थितिमा पुगेका छन् । यस्तो बेला अप्रत्यक्ष दवाव दिएर मानवीय संवेदनमाथि खेल्नु र महामारीमा कमाउ धन्दा चलाउनु सामाजिक अपराध नै हुनजान्छ । देशभर कतै पनि विद्यालयहरु खोल्ने र भर्ना लिने कार्य नभइरहेको स्थितिमा रुपन्देही र कपिलवस्तुका यी शैक्षिक संस्थाहरुले गरेका यी गतिविधि कारवाहीयोग्य छन् ।

Loading...