राखेपको सदस्यसचिवका लागि तीन जनाको सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीन जना सिफारिस भएका छन्।

सिफारिस हुने अन्यमा महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापा छन्। युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितीले एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको हो। थापा सत्तारुढ नेकपाको पोलिटब्युरो सदस्य हुन्।

यी मध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्ने छ। मन्त्रालयले एक साताअघि राखेप सदस्यसचिवका लागि सार्वजनिक दरखास्त आह्वान गरेको थियो। दरखास्तको म्याद बिहीबार सकिएको थियो।

राखेप सदस्यसचिव बन्न खुला आह्वान गरिएको यो पहिलोपटक हो। राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ लागु भएपछि यस ऐनमा व्यवस्था भएअनुसार सदस्यसचिव चयनको प्रकृया अगाडि बढेको हो।

दरखास्त दिन नेपाली नागरिक भएको हुनुपर्ने, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविधालयबाट कम्तिमा स्नातक तह उर्त्तिण भएको हुनुपर्ने, खेलकुदको क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पुरा भएको हुनुपर्ने आवश्यक योग्यता तोकिएको थियो।

Loading...