ला लिगामा बार्सिलोनाको ४–० को शानदार जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले तीन महिनापछि भएको खेलमा शानदार जित दर्ता गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनका फुटबल गतिविधि पुनः सुरु भएसँगै ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना ४–० ले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि थप दुई गोल गरेको हो । दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा टिमको अग्रता २–० भयो । ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।

मेस्सीले यो सिजन लिगमा २० औँ गोल गरेका हुन् । जितपछि बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ । अर्थात उ एक खेल कम खेलेको रियल मड्रिड भन्दा पाँच अंकले अघि रहेको छ ।

शनिबार राति भएका अरु खेलमा स्पानियोलले एलाभेसलाई २–०, भिल्लारियलले सेल्टा डी भिगोलाई १–० तथा रियल भालाडोलिडले लेगानेसलाई २–१ ले पराजित गरेको छ ।

Loading...