ला लिगामा लिग लिडर बार्सिलोनाको खेलमा मेस्सी र स्वारेज खेल्ने पक्का

काठमाडाैं । तीन महिनापछि बार्सिलोना मैदानमा फर्किँदै छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका स्पेनका सम्पूर्ण फुटबल गतिविधि सुरु भएका छन् ।

ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गर्दैछ । गएको मार्चपछि बार्सिलोना पहिलोपटक मैदानमा प्रतिस्पर्धात्मक खेलका लागि उपस्थित हुन लागेको हो । अवे मैदानमा हुने खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि सहभागी हुने पक्का भएको छ । गएको जनवरीमा दायाँ घुँडाको शल्यक्रिया गरेका स्वारेज फिट भएका छन् ।

थाइमा समस्या भएका मेस्सी पनि खेलका लागि तयार भएको जनाइएको छ । सामुएल उमटिटी पनि फिट भएका छन् । ११ चरणका खेल बाँकी हुँदा कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगा गएको बिहीबारदेखि पुनः सुरु भएको हो । बिहीबार रातिको खेलमा सेभिल्लाले रियल बेटिसलाई पराजित गरेको थियो ।

बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । उसको २७ खेलबाट ५८ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।

Loading...