शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए ।

सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप जिम्मेवारी थपिदिएको बताए ।

अब विद्यार्थीलाई मात्रै पढाएर शिक्षकको जिम्मेवारी पुग्ने नदेखिएको भन्दै उनले शिक्षकले अब भयभित समाज र बाटो बिराएको राजनीतिलाई पनि सहि सन्देश दिनुपर्ने धारणा व्यक्त गरे ।

‘अभिभावकहरुलाई कोरोनाको महामारीको सही सन्देश सुनाउनुहोस्, राजनीतिक नेताहरुले सही बाटो देखाउनुहोस्’– प्रवक्ता शर्माले भने– ‘बालबालिकालाई शैक्षिक र मानसिक सिकाइ गर्नुहोस्’

उनले लामो समय शिक्षण संस्था पूर्णत बन्द गरेर राख्न नहुने बन्दै सरकाले परीक्षणको दायरा बढाएर बिस्तारै शिक्षण संस्था विभिन्न विकल्पहरुमा खुला गर्दै जानुपर्ने बताए ।

यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना कहरका बीच खाली समयलाई सदुपयोग गर्दै चितवन संघले रचनात्मक काम गरेकोमा प्रशंसा गरे । गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिन सक्ने भन्दै शिक्षकहरु आफैले आफ्नो क्षमता बढाउन प्रयास गर्नु अनुकरणीय भएको बताए ।

नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्र उपाध्यायले शिक्षकले नै शिक्षकको क्षमता बढाउने, सूचनाप्रविधि सिकाउने पहल थाल्नु राम्रो कुरा भएको भन्दै चितवन संघलाई धन्यवाद दिए । सरकारले गर्नुपर्ने, अझ संघीय कार्यसमितिले गर्नुपर्ने काम जिल्लाका शिक्षकहरुले गर्नु प्रशंसनीय भएको उनको धारणा थियो ।

शिक्षक संघका संघीय समितिका उपमहासचिव सुन्दर पन्तले चितवन जिल्लाले ३५ जिल्लाका शिक्षकहरुलाई १० दिने सूचनाप्रविधि तालीम दिएर उल्लेखनीय काम गरेको भन्दै धन्यवाद दिए ।

समापन कार्यक्रममा बोल्दै शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेलले लकडाउनमा बसिरहेका शिक्षकलाई मानसिक ताजगी सँगै थोरैभएपनि क्षमता विकास होस् भनेर तालीम आयोजना गरिएको बताए । प्रतिकुलतामा पनि सकारात्मकता र सिर्जनाको खोजी गर्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको भन्दै डा. कँडेलले सहयोगी सबैलाई धन्यवाद दिए ।

तालीममा सहभागी शिक्षकहरुले भने १० दिने तालीमले आफूहरुलाई नयाँ जीवन दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

सहभागी लमजुङका शिक्षक राजिव पण्डितले पहिले आफुलाई मोवाइलमा फोन गर्न, गीत सुन्न र सामाजिक सञ्जाल चलाउन मात्रै मिल्छ भन्ने लागेपनि तालीमपछि यसबाट विद्यार्थीलाई सिकाउन, गृहकार्यदिन, शैक्षिक सामग्री निर्माण गर्न मिल्ने कुरा जानेको बताए । अब सिकेको सीप कक्षाकोठा र विद्यार्थीसम्म पुर्याउने उनले प्रतिबद्धता जनाए ।

कलिका कन्यामन्दिर मावि बागलुङकी शिक्षक हुमा रिजालले तालीमले आफुलाई नयाँ जुनी पाएको अनुभव भएको बताइन् । मोवाइलमा फोन उठाउन मात्रै जानेकी थिएँ, अब यसबाट सिकाउन र शैक्षिक सामग्री बनाउन पनि जानेँ–उनले भनिन् । स्याङ्जाकी शिक्षक सीता गैरेले तालिमबाट धेरै कुरा सिकेको बताइन् । मोवाइल र ल्यापटप भए घरमैबसेर पनि सिकाउन सकिने रहेछ भन्दे उनले सिकेको सप्को व्यवहारिक प्रयोग गर्ने बताइन् ।

निलकण्ठ मावि धादिङका प्रअ ध्रुव अधिकारीले पहिले सूचनाप्रविधिमा थोरैमात्र ज्ञान भएपनि तालिमपछि फराकिलो बनेको भन्दै अब सिकाइमा यसको भरपूर प्रयोग गर्ने बताए ।

जमुनीया मावि बर्दियाका प्रअ कुमार प्रसाद सापकोटाले सूचनाप्रविधिको ज्ञान पाएपछि बल्ल आफूलाई वास्तविक रुपमा शिक्षक भएको अनुभव मिलेको बताए ।
चितवनका शिक्षक विनोद अधिकारीले तालिमले मोवाइल र ल्यापटपबाटै प्रश्नपत्र, नतिजा, सिकाइ सामाग्री, विषयगत क्वीज, पावरप्यान्ट निर्माणगर्नेलगायतका धेरै काम गर्न सकिने कुरा सिकाएको बताए ।

Loading...