लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए।

कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर नेपालको भूमिसमेत अतिक्रमण गर्दै सो मार्ग सञ्चालनमा ल्याएको हो।

‘कालापानी क्षेत्रमा नेपाल र भारतको सीमाबिन्दु कहाँ हो भनेर दुवै देशबीच सहमति हुन सकेको छैन। त्यस्तो स्थानमा एकपक्षीय रुपमा यथास्थितिमा कुनै प्रकारको परिवर्तन हुनेगरी कुनै पनि पक्षले केही काम गर्नु हुदैन,’ पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले नेपालखबरसँग भने, ‘भारतले गरेको यो कामको तत्काल नेपाल सरकारले लिखित रुपमै बिरोध गर्नुपर्छ।’

गत कात्तिकमा नै भारतले नेपालको कालापानीसहितको क्षेत्रलाई समावेश गरेर नक्सा जारी गरेको थियो। त्यसपछि कुटनीतिक नोट पठाउँदै नेपालले त्यसको विरोध गरेपनि यस विषयमा दिल्लीसँग काठमाडौंले वार्ता गर्न सकेको पनि छैन।

नेपालले सीमासम्बन्धी विवाद समाधान गर्न भारतलाई सचिवस्तरीय वार्ताको प्रस्ताव गरेपनि भारतले त्यसप्रति तत्परता देखाएको छैन। र, अहिले आएर त्यस क्षेत्रमा सडक नै सञ्चालनमा ल्याएर झन् बल मिच्याइँ गरेको छ।

वार्ताको माध्यमबाट सीमा समस्याको समाधान खोज्ने बताउँदै आएको दिल्लीले वार्ता गर्ने काठमाडौंको प्रस्तावलाई बारम्बार बेवास्ता गर्दै अतिक्रमणका थप प्रयास गर्दै आएको छ। नेपाल र भारतको सीमा क्षेत्रमध्ये दार्चुलाको लिम्पियाधुरा, लिपुलेकसहित कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा निर्धारण हुन सकेको छैन।

Loading...