सञ्चार मन्त्रालयमा गुरुङलाई हटाएर अधिकारीलाई अधिकार

काठमाडौँ, ८ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सरकारले केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको हो । नवनियुक्त सचिव अधिकारीले बुधवार पदभार ग्रहण गरेका छन् ।

मन्त्रालयले बुधवार सचिव अधिकारीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई जनतासम्म पहुँच पु¥याउन नीति निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “अहिलेको समय भनेको सूचना प्रविधिको समय हो, सूचना पाउने जनताको अधिकार हो, यसलाई नीति निर्माण गरेरै अघि बढाउने प्रयास गर्नेछु ।” अधिकारी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । सो क्रममा उहाँलाई मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललगायत कर्मचारीले स्वागत गरेका थिए ।

यसैबीच, बुधवार नै मन्त्रालयका निर्वतमान सचिव महेन्द्रमान गुरुङलाई बिदाइ गरिएको छ । मन्त्रालयमा करिब १० महिना काम गरेका गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

बिदाइका क्रममा सचिव गुरुङले सञ्चार प्रविधिसँग सम्बन्धित भएर काम गर्न पाउँदा आफ्नो कार्यकालमा सन्तुष्ट भएको बताए । उनलाई बिदाइका क्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललगायत कर्मचारीले मायाको चिनो दिएर बिदाइ गरेका थिए ।

सञ्चार मन्त्रालयका नवनियुक्त सचिव अधिकारी स्वागत र निवर्तमान सचिव गुरुङको बिदाइमा मन्त्रालय मातहतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

Loading...