कोरोनाविरुद्ध महाभियान सञ्चालन हुँदै

भक्तपुर । कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ ।

दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ ।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम विरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिए । ‘अहिले उपत्यकाका १८ वटै नगरले संयुक्त रुपमा सो भाइरसको जोखिम विरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ, यसका लागि सबै नगरपालिका एक ठाउँमा उभिएका छौँ ।’ उनले भने ।

सबै नगरपालिकाले आफ्ना नगरपालिकामा सो भाइरसबाट जोगिने उपायसहितका सकारात्मक सन्देश आम नगरवासीमा प्रवाह गर्ने भएका छन् ।

सो भाइरसको आशङ्का भएका बिरामीको लागि निगरानी कक्ष (क्वारेन्टाइन) को व्यवस्था नगरपालिकाले गर्ने छन् । यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ ।

बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

सबै नगरपालिकाले आआफ्नो नगरक्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन् । बजार अनुगमनलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ । बजार अनुगमनमा क्रममा कालोबजारी गरेको , अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिका आफैँले कारवाही गर्ने र थप कारवाही आवश्यक भए सङ्घीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।रासस

Loading...