भारतबाट आएकाहरु नेपालगञ्जको क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

तर र एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।

कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् । उनले भने, ‘नजिकैका मानिसहरु जानु भएको हो, बाँकीका लागि व्यवस्था मिलाउँदैछौं ।’

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्। ‘सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,’ थापाले भनिन्।

प्रहरीका अनुसार अहिले करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

Loading...