कोभिड–१९ संक्रमणबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

काठमाडौं, १० चैत । कोभिड–१९ को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ ।

उता, चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यीमध्ये ३ हजार १ सय ५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । हुबेई कोरोना संक्रमणको उद्गम स्थल हो । स्पेनका लागि पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । बीबीसीका अनुसार, हालसम्म यहाँ १ हजार ७ सय ७२ मानिसको ज्यान गइसकेको छ । मध्यपूर्वको देश इरानमा हालसम्म १ हजार ६ सय कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१ हजार ६ सय ३८ मानिस संक्रमित रहेको बताइएको छ ।

फ्रान्समा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । रोकथामका पर्याप्त उपाय अवलम्बन गरिए पनि त्यहाँ हालसम्म ६ सय ७४ मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । संक्रमित संख्या भने चीनमा सबैभन्दा बढी छ । त्यहाँका झण्डै ८१ हजार ४ सय २६ मानिस कोरोना भाइरससँग जुधिरहेका छन् ।

त्यस्तै, इटलीका ५९ हजार १ सय ३८, अमेरिकाका ३३ हजार २ सय ७६, स्पेनका २८ हजार ७ सय ६८ र जर्मनीका २४ हजार ८ सय ७३ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । ३६० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना फैलन थालेपछि भारतले २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरेको छ ।

Loading...