प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो: सभापति देउवा

काठमाडौँ, ७ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन । सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका हुन ।

विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताएका छन । “प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो”, विज्ञप्तिमा उल्लेख छ ।

यसले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाले उल्लेख गरेका छन। प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उनको भनाइ थियो ।

देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन । प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन।

Loading...