अब त्रिविमा पारदर्शिता, निपष्क्षता र गुणस्तरको मार्गचित्र ल्याइने

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ । आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म राम्रो काम गर्ने उपकुलपति डा बाँस्कोटाको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुँदा त्यस क्षेत्रका सुधारमा भूमिका खेल्नुभएका डा बाँस्कोटाले कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा १९औँ उपकुलपतिका रुपमा आज पदबहालीपछि रासससँग कुरा गर्दै निष्पक्षता, सामूहिक कार्य, अनुशासन, जवाफदेहिता र कर्तव्यपरायणता आफ्नो कार्यशैली भएकाले पहिला आफूले पालना गरी अरुलाई पालन गराउने जनाउनुभयो ।

उनले बहालीकै क्रममा पदाधिकारी, विभिन्न सङ्कायमा डीन र विभागीय प्रमुखलाई इमान्दार भएर काम गरी त्रिविको छवि माथि उठाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई सो पदमा नियुक्त गर्नुभएको थियो । नाक, कान र घाँटी विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख हुनुहुन्छ ।

“त्रिविको भौतिक र प्राज्ञिक सम्पत्तिको सदुपयोग कसरी गर्न सकिन्छ भन्नेमा ‘यार्ड स्टिक’ मापदण्डका आधारमा काम गर्नेछु । मापदण्ड र कानूनी आधारभन्दा बाहिरका काम भए कानूनी दायरामा पर्छ । दलगत भागबण्डा हुँदैन”, डा बाँस्कोटाले भने, “मेरा लागि जो जुनसुकै आस्थामा होस्, उसको काम र परिणाम चाहिन्छ ।”

व्यवस्थापनका क्षेत्रमा ‘यार्ड स्टिक’ एक विश्वव्यापी रणनीतिक मापदण्डको आधार हो । यसले व्यवस्थापन र कार्यकारीमा रहेका व्यक्तिलाई परामर्श दिई परिणामलाई ध्यानमा राख्नेछ । उनले हरेक महिना विभिन्न डीन र विभागीय प्रमुखसँग समस्या र समाधानका लागि बैठक गरिने जानकारी दिए ।

उपकुलपति बाँस्कोटाले मन, धन र कर्मले प्रतिबद्ध भई नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने दायित्व निर्वाह गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिविमा भौतिक पूर्वाधार निर्माणमा समस्या रहेको उल्लेख गर्दै प्राध्यापनको वातावरण सिर्जना गर्दै आवश्यकताअनुसार नीतिनियम संशोधन गरी शैक्षिक पात्रो नियमित गर्ने र पाठ्यक्रम सुधार गर्ने कार्ययोजनालाई मार्गचित्र बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विगतभन्दा फरक ढङ्गले नेतृत्व दिएर निरन्तरताको क्रमभङ्ग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो ।

विश्वविद्यालय आफ्नै ऐनबाट सञ्चालित भएकाले उपकुलपतिले शपथग्रहण लिने व्यवस्था नभएकाले डा बाँस्कोटाले आज पत्र बुझेपछि पदबहाली गरेका हुन । उनलाई शिक्षाध्यक्ष डा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, त्रिविका प्राध्यापक सङ्घका सभापति प्रा डा वसन्त ढकाल र त्रिवि कर्मचारी सङ्घ केन्द्रीय कार्यलय एकाइ सभापति चेतनाथ न्यौपाने, विभिन्न सङ्कायका डीन र विभागीय प्रमुखले स्वागत गरेका थिए ।

विसं २०३६ वैशाख २६ गते सहायक प्रशिक्षकबाट त्रिवि सेवामा प्रवेश गर्नुभएका डा बाँस्कोटा विसं २०६६ देखि प्राध्यापकमा बढुवा हुनुभएको हो । त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि चार वर्षको रहने व्यवस्था छ । मुलुकको जेठो विश्वविद्यालय त्रिविले उच्चशिक्षाको ८० प्रतिशत विद्यार्थीको हिस्सा ओगट्दै आएको छ ।

तीन विश्वविद्यालयमा चाँडै नियुक्ति हुने

उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न गठित सर्च कमिटीको बैठक मङ्गलबारदेखि बस्ने भएको छ । कमिटीका अध्यक्ष एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निजी सचिवालयका अनुसार नियुक्ति सिफारिस गर्न आन्तरिक सूची (रोष्टर) तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेकामा विवरण प्राप्त भइसकेकाले बैठक बस्न लागेको हो ।

उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलोपटक हो । कमिटीले कुलपति एवं प्रधानमन्त्रीलाई प्रत्येक विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

Loading...