यसरी गरिदैछ छठको तयारी, छठ तयारीका रोचक दृष्यहरु (फोटो फिचर)

विराटनगर, १६ कार्तिक । छठ पर्वको मुख्य दिन आज पूर्वी तराईका विभिन्न जिल्लाहरुमा भव्य रुपमा अस्ताउँदो सूर्यलाई अध्र्य दिने तयारी भैरहेको छ । मोरङको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा स्थानीय वासीन्दा तथा ब्रतालुहरुकोे घुईचो लाग्न थालेको छ ।

छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु जलासय तर्फ लागिरहेको दृश्य यत्रतत्र देख्न सकिन्छ ।

यसै अवसरमा विराटनगरको सिंगिया खोलामा साँझ ५ वजे सूर्यलाई अध्र्यदिईने सवै तयारी भव्य अनि द्रुत गतिमा भैरहेको छ । विराटनगरको उत्तरपूर्वी दिशामा रहेको घिनाघाटस्थित सिंगिया खोलाको दुवै किनारा हुँदै विराटनगरको दक्षिणपूर्वी दिशामा रहेको हाटखोला कटहरीस्थित सिंगिया घाटमा भव्य सजिसजाउ गरिएको छ । लगभग ८ देखि १० किलोमिटर लामो क्षेत्रफलको सिंगिया खोलाको अधिकांश किनारालाई केरा, फूल, त्रिपाल, विजुली वत्ति, विभिन्न रुखका पात आदिले झकिझकाउ पारिएको छ । छठ पर्वको रमाईलो हेर्ने र छठको व्रत वस्नेहरुको वाक्लो उपस्थितीले स्थानिय खोला किनारामा घुईचो लाग्न थालेको छ ।

यसैवीच छठ पर्वको अवसरमा विराटनगरमा फलफुल, माटाका पूजा सामग्री, नाङ्गलो, ढाकी तथा अन्य सामग्रीको भाउ आकासिएको छ । अघिल्लो साता ६० रुपैयामा किनमेल भएको जट्टा सहितको नरिवल रु १ सय ५० सम्ममा किनवेच भएको छ । त्यस्तै उखु, सुन्तोला, स्याउ, सुठुनी आदिको भाउ पनि दोब्बर भएको छ । विराटनगरको स्थानीय गुद्री वजार शुक्रबार वेलुकीदेखि यो समाचार तयार पार्दा समेत भिडमभिड देखिएको छ ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

 

Loading...