व्यक्तिमुखी राजनीतिको शिकार बन्दै विकास र समृद्धि

विकासको पद्धति स्थापित गर्न भगीरथ प्रयत्नमा सरकार: कालो बादलमा चॉदीको घेरा

नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको छ ।

वर्तमान शक्तिशाली सरकार निर्वाचित भएपछि यस क्षेत्रमा गुणात्मक सुधार भएको छ । समाजका हर क्षेत्रमा व्यक्ति हावी हुने परम्परा तोडिन थालेको छ । संसारकै राजनीतिक अभ्यासलाई हेर्दा राजकीय ज़िम्मेवारीमा पुगेको व्यक्तिको केही प्रभाव त अवस्य हुन्छ तर ऊ पनि विना पद्धति चल्न सक्दैन । अर्थात् व्यक्ति जतिसुकै माथिल्लो पदमा आसिन किन नहोस्, उसले एउटा पद्धतिको अधिनमा वा त्यसभित्र रहेर काम गरिरहेको हुन्छ । वर्तमान सरकार आए पछि यो क्षेत्रमा कायापलट हुन थालेको छ ।

राज्य कमजोर हुॅदा व्यक्ति हावी हुने र राज्य शक्तिशाली वन्दै जाँदा पद्दतिले काम गर्न शुरु गर्ने वास्तविकतालाई वर्तमान सरकारले राम्रोसंग आंकलन गरेर आफ्नो कार्य अगाडि बढाएको सहजै देख्न सकिन्छ । पद, प्रतिष्ठा र पहुँचको आधारमा नभई देशको संविधान, ऐन र कानुनको आधारमा देश संचालन हुने वित्तिकै देशका कैयौं समस्या आफै समाधान भएर जाने निस्चित छ ।

निवर्तमान सभामुख कृष्णवहादुर महराको यौन प्रकरण, गृहमन्त्री रामबहादुर थापाका भाईको ठगी काण्ड, सांसद अव्ताव आलमसंग जोडिएको गौर हत्याकाण्ड, रवि लामिछाने प्रकरण, कैलाली हत्याकाण्ड लगायतका तमाम घटनामा संविधान, ऐन, क़ानूनको कार्यान्वयन गर्न सरकारले कुनै कसर बाक़ी राखेन, कोहीसंग नाजायज सम्झौता गरेन र भीडको दवावमा झुकेन । नि:सन्देह, यो भोलिको लागि शुभ संकेत हो, कालो बादलमा चाँदीको घेरा हो ।

देशको प्रमुख चुनौति मानिएको भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा व्यापक सुधार हुने र वास्तविक अर्थमा सुशासन शुरू हुने अत्यन्त सकारात्मक संकेत देखा परेको छ । पदमा पुग्नासाथ आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने नेतृत्वको आम प्रचलनलाई तोड्न प्रधानमन्त्री के पी शर्मा ओली आफैं मैदानमा उत्रनु भएको छ । आफ्नो नाममा रहेको सम्पत्ति राज्यलाई हस्तान्तरण गर्ने घोषणा भ्रष्टाचारविरुद्ध एक महान शंखघोष हो । नेतागिरी वलिदानको पर्याय हो, सम्पत्ति थुपार्ने व्यवसाय होईन भन्ने सन्देश सबै राजनीतिककर्मीलाई दिन वहाँ सफल हुनु भएको छ । र, पार्टीभित्र वहाँले एक ऐतिहासिक नमूना पेश गर्नुभएको छ । यो र अन्य धेरै सकारात्मक कामले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई समेत उछिन्नु भएको छ ।

पद्धति कमजोर र व्यक्ति हावी हुने विगतले भ्रष्टाचारलाई मलजल गर्गै आयो । त्शसकारण शक्तिमा पुगेका व्यक्तिले पद्धति कुल्चेर आफ्नो निहित स्वार्थ पूरा गर्ने परिपाटीमा प्रहार हुने वित्तिकै भ्रष्टाचारको मुहान सुक्न थालिहाल्छ । वर्तमान सरकारले भ्रष्टाचार नियंत्रणमा अपेक्षाकृत सफलता हासिल गर्यो भने नेपाली जनतालाई योभन्दा ठूलो उपहार केही हुने छैन । नेता भएकै कारण आर्जिएको ग़ैरक़ानूनी सम्पत्तिको खोजतलास हुनसके जनताको हड्डी हॉस्ने थियो ।

ओली प्रधानमन्त्री भएको यत्रो समय भयो ख्वै विकास भएको ? भन्ने ओठे प्रश्न वेला वेला सुन्ने गरिन्छ । विकास पनि व्यक्तिले गर्नै होईन, पद्धतिले गर्ने हो । चेतनाको कमीले भनौं वा ग़लत परम्पराको कारणले भनौं, जनताको मनमा अझै नेताले विकास गरेन, सांसदले विकास गरेन भन्ने भ्रम बाँकी छ । अझ पनि कतिपय आलाकाँचा सांसदहरु मैले यति विकास गरें उति विकास गरें भनेर घोक्रो सुक्ने गरी भाषण गरिरहेछन् । व्यक्तिले गरेको विकास एकपक्षीय, विवादित र क्षणभंगुर हुन्छ । पद्धतिले गरेको विकास सबै जनतालाई समेट्ने, विवादरहित र दीर्घकालिक हुन्छ । यो तथ्यलाई नजिकबाट हेरेको वर्तमान सरकारले देशको समग्र विकासको पद्धति स्थापित गर्न भगीरथ प्रयास गरिरहेको प्रतित हुन्छ ।

विकास निर्माणमा जब व्यक्ति होईन पद्धति हावी हुन्छ , तब जुनसुकै पार्टीको नेतृत्वमा सरकार भए पनि विकासको फल चाहीँ सबै जनतालाई बराबरी प्राप्त हुन्छ । अब पनि सबै क्षेत्रमा पद्धतिले काम नगरे राजनीतिक उपलब्धिको भविष्य सधै संकटपूर्ण रहिरहने छ !

Loading...