राष्ट्रपति सहभागी एनआरएनएको विश्व सम्मेलन उपेन्द्र महतोले किन गरे बहिस्कार

काठमाडौं, २८ असोज । काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले उपस्थित भएनन् । उनले यो नवौ सम्मेलन नै बहिस्कार गरेको चर्चा चलेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलन बौद्धस्थित होटल हायातमा आयोजना गरिएको सम्मेलनमा चलिरहेको छ । यसअघिका सबै सम्मेलनहरुमा र एनआरएनएका सबै गतिविधिमा सक्रिय रुपमा सहभागी हुने र संरक्षक समेत रहेका उनी यसपटक भने बहिस्कार गरेका हुन् ।

महतोले एनआरएनए आफ्नो स्थापनाको उद्देश्यबाट चिप्लिएको बताउने गरेका छन् । अहिले अझै संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलनमा सहभागी नभएको बताएका छन् । महतोले संघमा अहिले राजनीतिक हस्तक्षेप पनि हुने गरेको दावी गरेका छन् ।

उनले एक मिडियासँग कुरा गर्दै भनेका छन्, “यस पटक बढी नै हस्तक्षेप भएजस्तो लाग्यो । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुनेमा जोड दिए । सबै क्षेत्रमा राजनीतिक दवदवा छ, कमसेकम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

नवौ विश्व सम्मेलनमा यसपटक ८१ देशका २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । आज उदघाटन गरिएको सम्मेलनमा भोलि बुधबार मतदान गर्ने कार्यतालिका छ । यसपटक संघका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यको प्यानल खडा भएको छ । पन्त सत्तारुढ नेकपा नजिक मानिन्छन भने आचार्य नेपाली कांग्रेस निकट मानिन्छन् ।

Loading...