महरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, – आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नैपर्छु

झापा, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार आरोपमा पक्राउ परेका निर्बतमान सभामुख कृष्णबहादुर महरालाई कारबाही हुने बताएका छन् । उनले महराको नामै नलिइकन आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नुपर्ने स्पष्ट पारे । बलात्कार प्रयासको आरोपमा महरा पक्राउ परेको भोलीपल्टै झापा पुगेका प्रधानमन्त्री ओलीले महरा प्रकरणप्रति लक्षित गर्दै आफ्नो भनाई सार्बजनिक गरेका हुन् ।

झापाको दमकमा सोमवार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा नामै नलिइ प्रधानमन्त्री ओलीले भने, ‘कसैको आचरणमा तलमाथि पर्‍यो भने त्यो म सहन्नँ। ठूलो र सानो भन्ने कुरा हुँदैन। ठूला सानाको मतलब छैन। आचरण तथा व्यवहारको मतलब छ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए। उनले भने, ‘जुनसुकै पद वा ओहदाको भए पनि भ्रष्टमाथि कारबाही हुन्छ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चाडपर्वहरुको सन्दर्भमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए । उनले नेपाली समाजको सद्भाव, एकतालाई बलियो पार्न हरेक चाडवर्पहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेकपाका प्रदेश १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्ध रुपमा लागि परेको भन्दै केहि भ्रमहरुलाई चिर्न सवै एक हुनु पर्नेमा जोड दिए ।

कार्यक्रम हलमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई झापाका आदिबासी सन्थाल जातिको सांस्कृतिक नृत्यले स्वागत गरिएको थियो । उनले सो सांस्कृतिक नृत्य समेत केहि वेर रुची पूर्वक अवलोकन गरेका थिए ।

Loading...