सासूले बुहारीलार्इ असारे हिलोमा पछारेपछि । कतै १ मत त कतै गोलामा पराजित

काठमाडाैं, १७ असार । स्थानीय चुनावकाे दाेस्राे चरणमा पनि धेरै राेचक र रमार्इला तथ्यहरु बाहिर अाएका छन् । चुनाव गराउन गएका कर्मचारीहरु दिनभर कुर्दा पनि मतदाताहरु नअाएका समाचारदेखि भिडन्तका खबरसम्म अनि कतै सासुले बुहारीलार्इ पराजित गरेका त कतै शिक्षकलार्इ विद्यार्थीले पराजित गरेका कथा पनि अाएका छन् । त्यसैगरी कतै उम्मेदवारहरु १ मतले मात्र पराजित भएका छन भने कतै गाेलामा जीत पराजित भएका समाचार पनि बाहिर अाएका छन् । दाेस्राे चरणकाे स्थानीय चुनावमा देखिएका केही राेेचक दृष्यहरु

एक मतले विजयी

रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए ।

 

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ मा पनि एक मत अन्तरको हारजित भएको छ । वडाध्यक्षमा उठेका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार मगरले एमाले उम्मेदवार इन्द्रबहादुर सारु मगरलाई एक मतले पराजित गरे । इन्द्रले ४९९ मत ल्याए भने मगरले ४९८ मत प्राप्त गरे ।

 

मत बराबरीपछि गोलाप्रथा

रोल्पाको दुईखोली गाउँपालिका–३ मा कांग्रेस र माओवादीका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ । कांग्रेसका भीमबहादुर केसीसँग बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिँदा माओवादीका झपिराम डाँगी विजयी भएका छन् ।

 

अछाममा बराबरीपछि पुनः गणना 

अछामको मेल्लेख गाउँपालिका–२ मा एमाले र माओवादी अध्यक्षका उम्मेदवारले ३२८÷३२८ मत ल्याएपछि पुनः मतगणना सुरु भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा मत बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिनुपर्नेमा व्यवस्था छ । तर, दलका प्रतिनिधिले गोलाप्रथा गर्न नमानेपछि पुनः मतगणना सुरु भएको हो ।

 

बाजुरामा विद्यार्थीले शिक्षकलाई हराए 

बाजुराको बडिमालिका नगरपालिका–८ मा आफैंले पढाएका विद्यार्थीसँग शिक्षक पराजित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदार बनेका प्रकाश रावलले आफ्नै गुरु गोविन्द थापालाई पराजित गरेका हुन् । विजयी २१ वर्षीय रावलले ४८० मत ल्याए ।

 

बाजुरामा २८ मतान्तर

बाजुराको बडिमालिका अध्यक्षमा कांग्रेसका पदम बडुवाल २८ मतअन्तरले विजयी भएका छन् । बडुवालले दुई हजार चार सय ९० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका गगनबहादुर रावलले दुई हजार चार सय ६२ मत ल्याए ।

 

रुकुमकी कुमारी पहिलो महिला अध्यक्ष

दोस्रो चरणको निर्वाचनअन्तर्गत रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल विजयी भएकी छन् । माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदार बनेकी बरालले तीन हजार दुई सय ९३ मत ल्याइन् । दोस्रो चरणको निर्वाचनमा स्थानीय तहमा निर्वाचित हुने बराल पहिलो महिला हुन् ।

 

प्रधानमन्त्रीको जिल्ला सदरमुकाममा एमाले विजयी

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामा एमालेका विपिन ओझा विजयी भएका छन् । उपमेयरमा पनि एमाले नै विजयी भएका छ।

 

दुई पत्रकार निर्वाचित 

डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा निर्वाचित संगीता भण्डारी पत्रकार पनि हुन् । त्यस्तै, बाजुराको बडामालिका–७ को वडाध्यक्षमा पनि पत्रकार धर्मराज पाध्याय एमालेबाट विजयी भएका छन् ।

सासूसँग बुहारी पराजित

इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् । सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् ।

Loading...