‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन तयारी शुरु

इलाम, २५ भदौ । आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन् ।

पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवी पौड्याल, महासचिवमा अर्जुन कार्की, सचिवमा खेमराज सिटौला र कोषाध्यक्षमा कमला रिजाल चयन भएका छन ।

समिति निर्माण गर्दै पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल बनाउन सबै तह र तप्काबाट लाग्न सबैलाई आह्वानसमेत गरेका छन् । भ्रमण वर्ष सफल बनाउन जिल्ला–जिल्लामा समिति गठन गर्ने र सम्बन्धित संस्थासँग समन्वय गरेर आउने पर्यटकका लागि राम्रो व्यवस्था मिलाउने बारेमा समेत छलफल भएको पर्यटन व्यवसायी देवी पौड्यालले जानकारी दिए ।

पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि इलाम जिल्लाभरिको ‘टुरिजम प्याकेजिङ’ समेत निर्माण गरेका छन् । इलाम भ्रमणमा आउने पर्यटकको बसाइ सहज बनाउनका लागि जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्य भ्रमण गराउने गरी प्याकेज बनाइएको हो ।

प्याकेजमा रु १५ हजारमा इलाम जिल्लाभर घुम्न सकिनेछ । त्यसका लागि इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, माईपोखरी, सिद्धिथुम्का, ढापपोखरी, हागे थाम, गजुरमुखी लगायतका क्षेत्र रहेको पर्यटन व्यवसायी पौड्यालले जानकारी दिए ।

Loading...