उपाकुमार्ग खुलाइँदै

काठमाडौँ, १९ भदौँ । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो ।

उक्त समझदारीअनुसार यस वर्षको लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा भएका कारण धरहरा पुनःनिर्माणका क्रममा बन्द गरिएको छ । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष यही भदौ २४ गते उपाकु परेको छ । उपाकुका दिन सोही मार्ग भई हिँडिने हुँदा यस मार्गको नाम पनि उपाकुमार्ग भएको हो ।

काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकुमार्ग खोल्न सरोकारवाला पक्षबीच बुधबार भएको छलफलमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार परम्परागत रुपमा जहाँबाट हिँड्ने गरिएको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ ।

उपाकुमार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करीब १० फिट बाटो छाडिएको छ । यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यसलाई सुविधायुक्त बाटो बनाइनेछ । उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको छ ।

खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदलमार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चयकोष र साविकको गोश्वारा हुलाकको बीचमा आठफुटे अस्थायी पैदलमार्ग हुने जनाइएको छ ।

Loading...