यसरी तीब्र गतिमा निकालिदैछ दूधकोशीको पानी डुम्रेधारापानीमा

खोटाङ, १० भदौ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न शुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । गत असार २२ गतेबाट शुरु गरिएको दूधकोशी खानेपानी लिफ्टिङ आयोजनाको काम डेढ महिनामै करीब २० प्रतिशत काम पूरा भएको ठेकेदार प्रकाश नाछिरिङले बताए ।

डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर क्षमताको मुख्य ट्याङ्की निर्माणको काम पूरा भइसकेको जनाइएको छ । यस्तै, दूधकोशी र कोटगढीको बीचमा निर्माण गर्नुपर्ने ७० हजार लिटर क्षमताको तीनवटा ‘सप्लाइ’ ट्याङ्कीमध्ये एक वटाको पीसीसी ढलान सकिएको ठेकेदार नाछिरिङले बताए ।

पिउने पानीको चरम अभावका कारण डुम्रेधारापानीमा वर्षेनी बसाइँ÷सराइ बढेपछि तीन किलोमिटर तल रहेको दूधकोशीको पानी निकाल्ने योजना शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । गाउँमै पिउने पानीको व्यवस्था गर्दै क्रमिकरूपमा बढ्दै गएको बसाइँ÷सराइ रोक्न प्रदेश सरकारको रु नौ करोड ११ लाख छ हजार लगानीमा आयोजनाको काम शुरु गरिएको हो ।

तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ काम थालिएको लिफ्टिङ योजना गत असारमा कोटगढीमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका थिए । दूधकोशीको पानीलाई पहिलो रिजर्भ ट्याङ्की हुँदै डुम्रेधारापानीको कोटगढीमा निकालेर २५६ घरमा वितरण गर्ने लक्ष्य राखिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकास्थित डुम्रेधारापानीमा लामो समयदेखि पिउने पानीको चरम अभाव छ । पानी अभावका कारण यसवर्ष मात्रै १६ घरका स्थानीयवासी बसाइँ सरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

धारापानीको नामले परिचित डुम्रेधारापानीमा गाउँ नजिक पानीको स्रोत नहुँदा सबैभन्दा बढी घरपालुवा गाई÷भैँसी तथा अन्य पशुपक्षीलाई बढी समस्या भएको छ । नजिकमा स्रोत नभएको तथा केही टाढा भएका मुहान पनि सुकिसकेपछि विकल्पमा दूधकोशी नदीको पानी निकाल्ने आयोजनाको काम अघि सारिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भलकाजी तामाङले बताएका छन् ।

बोकेर ल्याएको पानीले मान्छेलाई मात्र पुग्ने र पशुपक्षीलाई पुग्नेगरी दूधकोशीबाट उकालो बाटो बोकेर ल्याउन नसकिने हुनाले समस्या भएको स्थानीयवासीले बताएका छन् । पिउनकै लागि करीब तीन किलोमिटर तल रहेको दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यताले कतिपय बालबालिका विद्यालय जानबाट वञ्चित हुनु परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताएका छन् ।

जिल्लाकै खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानी, हलेसी तुवाचुङ नगरपालिको महादेवस्थान र भुम्जुमा दूधकोशीको पानी निकाल्ने प्रयास भइरहेको छ । लिच्कीराम्चेको कालापानीमा सञ्चालित योजना अन्तिम चरणमा पुगेको छ भने हलेसीमा सञ्चालित आयोजनाको काम धमाधम भइरहेको छ ।

Loading...