समृद्धिका लागि हरित स्रोतको उपयोगमा जोड

काठमाडौँ, ५ भदौ । वातावरण क्षेत्रका जानकारले मुलुकको हरित प्राकृतिक स्रोत साधनको दिगो उपयोगले नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएको छ ।नेपाल वातावरण पत्रकार समूहले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनिहरुले जुडीबुटीलगायत वातावरणीय स्रोतसाधनको उपयोगमा परम्परागत ज्ञान, सीप र अनुभवमा विज्ञानको प्रयोग गरेर गरीबी निवारण गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा सांसद राजेन्द्रकुमार केसीले कृषि, वन, जडीबुटीलगायत हरित स्रोत नै मुलुक समृद्धिका आधार भएको उल्लेख गर्दै त्यसका लागि सोच र साधनलाई उपयोग गर्नुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले मुलुकको प्राकृतिक स्रोत र जनशक्तिको परिचालन गर्न उचित राजनीतिक वातावरण आवश्यकपर्नेमा जोड दिए ।

बायो प्रविधि विज्ञ तथा व्यवस्थापक नारायण घिमिरेले प्राकृतिक स्रोतको अन्तिम उत्पादन गर्न सकेमात्र आर्थिक क्षेत्रमा गुणात्मक उपलब्धि हासिल हुने बताउँदै जडीबुटीको आधुनिक व्यवसाय गर्नसके स्थानीयस्तरमा रोजगारी सिर्जना भई गरीबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकी, व्यवसायी भरत बस्नेत, वातावरण पत्रकार समूहका महासचिव निमेष रेग्मीलगायत वातावरणविद्ले प्राकृतिक स्रोतसाधन उपयोगको परम्परागत र रैथाने सीप तथा ज्ञानलाई नै आधुनिक विज्ञानसँग जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरे ।

Loading...