रवि लामिछानेको पक्षमा जुलुस निकाल्ने पाँच पक्राउ, प्रहरीमाथि ढुङ्गा हानेको आरोप

चितवन, १ भदौ । रवि लामिछानेको पक्षमा निकालिएको प्रदर्शनमा उत्तेजक व्यवहार गरेको भन्दै पाँच जना पक्राउ परेका छन् ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । सुरुमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएपछि शनिवार पुडासैनीलाइ न्याय दिनुपर्ने भन्दै उनको पक्षमा पनि प्रदर्शन भएको छ ।

यसैक्रममा प्रहरीले पाँच जना प्रदर्शनकारीलाइ पक्राउ गरेको जनाएको छ । उनीहरुले उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको प्रहरीको दावी छ । चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले सामाजिक शान्ति भङ्ग गर्ने र उत्तेजक बनेर प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताए । साथै उनले उनीहरुलाइ कानूनअनुसार कारवाही हुने जानकारी दिए । डिएसपी कोइरालाले प्रदर्शनले अनुसन्धानलाई कुनै फरक नपार्ने पनि बताए ।

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ

Loading...