लोकसेवाको विज्ञापन विरुद्ध बन्यो आन्दोलन परिचालन समिति, आदिवासी जनजातिले आन्दोलन अझै चर्काउने

काठमाडौं, २१ साउन । लोकसेवा आयोगले समावेशिता र समानुपातिक सिद्धान्त विपरित विज्ञापन खुलाउन थालेपछि त्यसका विरुद्ध निरन्तर आन्दोलनमा रहेका सरोकारवालाहरुले नयाँ आन्दोलन उठान गर्न आन्दोलन परिचालन समिति गठन गरेका छन् ।

सोमबार काठमार्डौंको सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको हो । आरक्षण बचाऔँ आन्दोलनका लागि समितिले सबैलाई एकजुट हुन आह्वान पनि गरेको छ । नवगठित आन्दोलन परिचालन समितिको संयोजकमा रामकृष्ण ब्लोन चयन भएका छन् । त्यसैगरी सचिवालय सदस्यमा रामभक्त बोम्जनलाई तोकिएको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि आन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिए ।

लोकसेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले त्यसका विरुद्ध विभिन्न चरणमा आन्दोलन जारी राखेका छन् ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।

यसैबीच सरकारले लोकसेवा कार्यालय परिसरको सुरक्षा व्यवस्ठा कडा पारेको छ। प्रदर्शनकारीले कार्यालय परिसरमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीको निगरानी बढाएको हो ।

Loading...