किनेरै गोल्डमेडल लिने भक्तपुर क्याम्पसका शिक्षक कोइराला र गोप्य शाखाका कर्माचार्य बिरुद्ध मुद्दा

काठमाडौं । घुस लेनदेन गरी परीक्षाको परिणाम फेरबदल गरेको दाबीसहित त्रिभुवन विश्वविद्यालयका ३ जना उपर अख्तियारले आरोप-पत्र दायर गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी राम बहादुर कर्माचार्यसमेत ३ जना उपर आरोप पत्र दायर भएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अनुसन्धान हुँदा उक्त कार्यमा सहभागी भएको पुष्टि भएपछी आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका शिक्षक सुरेन्द्र प्रसाद कोईरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकाय तर्फको एम.ए. गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्यसँग मिलेमतो गरी रु.एक लाख पचास हजार रुपैयाँ खर्च गरी आफ्नो एम.ए अर्थाशास्त्रमा गोल्ड मेडल हासिल गरेको प्रवक्ता कोइरालाले जानकारी गराए ।

सुरेन्द्र प्रसाद कोईरालाले सम्पूर्ण परीक्षार्थीको भन्दा बढी प्राप्ताङ्क हुने गरी अनुचित ढंगले अंक थपाई प्रथम श्रेणीमा प्रथम भई उत्तिर्ण गरेको, सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथम (Gold Medal) को हकदार बनेको र त्यतिमात्र नभई राम बहादुर कर्माचार्यलाई नै प्राप्ताङ्क थप गर्न लगाई एम ए ग्रामिण विकाशमा प्रथम श्रेणी हासिल गरेको तथा एम ए समाजशास्त्र को परीक्षामा अनुपस्थित हुँदाहुदै पनि उत्तिर्ण भएको देखिएको अख्तियारको दावी छ ।

सुरेन्द्र प्रसाद कोईरालाले हासिल गरेका विभिन्न संकायको १५ वटा पेपरमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न सुरेन्द्र प्रसाद कोईरालाले रु.एक लाख पचास हजार रुपैयाँ मा गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्यलाइ किनेको अख्तियारको ठहर छ ।

त्यसैगरी केदार भट्टराईसंग पनि कोइराला मार्फत कर्माचार्यले लेनदेन गरी ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गरिदिएको जानकारी प्राप्त भएको छ ।

कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको बताउदै आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

 

Loading...