रेडियो स्टुडियोभित्रै पसेर प्रहरीले पक्राउ गर्यो पत्रकार विश्वकर्मालाई

कालिकोट, ७ फागुन । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीमा कार्यरत एक पत्रकारलाइ प्रहरीले गिरफ्तार गरेकाे छ ।

रास्कोट नगरपालिका-९, फुकोट निवासी पत्रकार कर्ण विश्वकर्मा रेडियाे स्टुडियाेभित्रै छिरेर प्रहरीले पक्राउ गरेकाे हाे । उनी तीन वर्षदेखि उक्त रेडियाेकाे प्राविधिकको रुपमा कार्यरत रहेका थिए । विहीबार स्टुडियभित्रै प्रवेश गरी प्रहरीले विश्‍वकर्मालाई गिरफ्तार गरेपछि उक्त कार्यप्रति नेपाल पत्रकार महासंघलगायतका संघ-संगठनहरुले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विहीबारै एक प्रेस विज्ञप्ति जारी गरेर गिरफ्तारीकाे घटनाप्रति अापत्ती जनाएकाे छ । रेडियाे स्टुडियोभित्रै प्रवेश गरी प्रहरीले विश्‍वकर्मालाई गिरफ्तार गरेको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघका महासचिव रमेश विष्टले उनलाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै महासचिव विष्टले याे घटनाले नेपालकाे संविधानकै विपरित भएकाे बताएका छन् ।

पत्रकार विश्वकर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा अावद्ध रहेकाे प्रहरीले जनाएकाे छ । तर पत्रकार महासंघले भने कुनै राजनीतिक विचार र पार्टीप्रति आस्था राखेकै कारण पत्रकारलाइ पक्राउ गर्नु निन्दनीय रहेकाे जनाएकाे छ ।

यस्तो छ महासंघको विज्ञप्ति

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ । आज प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो ।

कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव
नेपाल पत्रकार महासंघ

Loading...