नेपालमा लगानी बढाउन एनअारएनएको अाह्वान

 

गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् ।

‘युरोपका नेपालीको एकता : समृद्ध नेपालको आवश्यकता…’ नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ ।
दुईदिने भेलामा सहभागी ५ सयभन्दा बढी गैरआवासीय नेपालीहरूले विश्वका विभिन्न मुलुकमा आफूहरूले आर्जन गरेको पुँजी र सीप नेपालको समृद्धिमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा विचारविमर्श सुरु गरेका गरेका छन् । दुईदिने छलफलको निचोडपछि गैरआवासीय नेपाली संघको १० र्औ क्षेत्रीय भेला तथा ८ औं युरोपियन क्षेत्रीय महिला सम्मेलनले नेपालमा एनआरएनको लगानी बढाउनेबारेमा आइतबार बेलुका घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको जानकारी आयोजकले दिएका छन् ।

युरोपका २८ मुलुकस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि र अरू महाद्वीपका पर्यवेक्षक सहभागी रहेको बृहत् क्षेत्रीय भेलाको उद्घाटन जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले गरेका थिए । भेलामा एनआरएनका केन्द्रीय समन्वय परिषदका पूर्व र वर्तमान पदाधिकारीसमेत सहभागी छन् ।

भेलाका उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनका संस्थापक, अभियन्ता र अगुवाहरूले दुई चरणको स्थानीय तहको चुनाव सम्पन्न भई संविधानको कार्यान्वयन सुरु भएपछि नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै यस्तो बेलामा विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरूले हातेमालो गरेर आफ्नो देशमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘नेपालीले हामीसँग धेरै आशा र विश्वास गरेका छन् । फेरि नेपालमा स्थानीय तहको चुनाव भएपछि संविधानको कार्यान्वयन सुरु भई लगानीको वातावरण बनेको छ । यो हामी गैरआवासीय नेपालीहरूका लागि मिलेर मुलुकलाई समृद्ध बनाउन योगदान पुर्‍याउने उपयुक्त समय हो । यो मौकालाई सदुपयोग गर्नु चुक्नु हुँदैन,’ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भने ।

उनले नेपाललाई समृद्ध बनाउने अभियानमा आफ्नो भूमिका के हुन सक्छ भन्ने कुरालाई केन्द्रविन्दुमा राखेर सोच्न र त्यसैअनुरूप काम गर्न सबै गैर आवासीय नेपालीलाई आह्वान गरे । उनले नेपालबाट शिक्षा र स्वास्थ्यका नाममा सबभन्दा बढी पैसा बाहिरिइरहेकाले त्यसलाई रोक्न स्वदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा लगानी बढाउनु अपरिहार्य बनेको बताए ।

महतोले विदेशमा रहेका नेपाली कामदारहरूको रेमिट्यान्सबाट मुलुक चलिरहेको उल्लेख गर्दै तिनैलाई एनआरएनको सदस्यता नदिइनु गलत भएकाले तत्काल विधान संशोधन गर्नुपर्ने बताए । विदेशमा १ सय ८० दिनभन्दा बढी बसेका विद्यार्थी या नेपाली कामदार जुनसुकै व्यक्ति गैरआवासीय हुने विश्वव्यापी मान्यताअनुरूप गैरआवासीय नेपालीसम्बन्धी कानुन र एनआरएनको विधान संशोधन गर्न पहल गर्नुपर्ने बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संविधान कार्यान्वयनको सुरुआतसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै नेपाललाई समृद्ध बनाउने एनआरएनको अभियान सफल पार्ने यो सबभन्दा उपयुक्त समय भएको बताए ।

उनले एनआरएनको प्रतिबद्धताअनुसार गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६ सयवटा घर भएको नमुना बस्ती विकास गर्ने काम अघि बढेको र आगामी हिउँदको अन्तिमसम्ममा काम पूरा भई घर हस्तान्तरण भइसक्ने दाबी गरे । उनले एनआरएनले राजधानीको शंखमूलस्थित वाग्मती किनारमा बगैंचासहितको उद्यान निर्माणको काम सुरु भएको जानकारी दिए ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं मुख्य संरक्षक जीवा लामिछानेले एनआरएन भनेको विश्वभर छरिएर रहेका नेपालीले आफ्नो आर्जन र सीपबाट मुलुकलाई समृद्ध बनाउने अभियान भएको उल्लेख गर्दै यो अभियानमा नलाग्ने हो भने एनआरएनको औचित्य समाप्त हुने बताए ।

उनले नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकारबिनाको नेपाली नागरिक स्विकार्नुका सार्थै संघले उठाएका धेरै माग पूरा गरिसकेको उल्लेख गर्दै विधानको उद्देश्यअनुरूप नेपालको समग्र विकासका लागि हामीले पुँजी र सीप लगानी गर्नुपर्ने बताए ।

एनआरएनका संरक्षक एवं जर्मनीमा सबभन्दा लामो समयदेखि काम गर्दै आएका रामप्रताप थापा र दिलबहादुर गुरुङले नजिक आइरहेको अधिवेशनमा जिते पनि हारे पनि एनआरएनलाई सफल बनाएर नेपाललाई समृद्ध बनाउन योगदान गर्छु भन्ने सोच भएका व्यक्तिहरूलाई मात्र उम्मेवार हुन आग्रह गरे । पद मात्र ओगट्ने हो भने एनआरएनको औचित्य समाप्त हुने धारणा उनीहरूको थियो ।

जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले नेपालमा पर्यटक बढाउन विश्वभर रहेका गैरआवासीय नेपालीहरूको ठूलो भूमिका हुन सक्ने उल्लेख गर्दै त्यसका लागि हरेक एनआरएनलाई नेपाली राजदूतका रूपमा काम गर्न आग्रह गरे । ‘म मात्रै होइन विभिन्न देशका राजदूत चार वर्षका लागि मात्र हो । तपाईंहरू त जुन–जुन मुलुकमा बस्नुभएको छ, त्यहाँका लागि सधैंलाई नेपालको स्थायी र वास्तविक राजदूत हो,’ खनालले भने ।

Loading...