जाङ येवन हकलाई एशियन भारोत्तोलन २०१७ मा तीन स्वर्ण

काठमाडौँ, १३ साउन । दक्षिण कोरियाका जाङ येवन हकले यहाँ जारी युथ तथा जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ का तीन स्वर्ण हात पारेका छन् ।

जाङले ८५ केजी तौलको जुनियर विधामा स्नाचमा १६२ केजी, क्लिन एनड जर्कमा १८५ केजी र कुलमा ३४७ केजी भार बहन गर्दै तीन स्वर्ण हात पारेका हुन् । उक्त विधामा ताइपेइका चेन पो जेनले स्नाचमा १५५ केजी र कुलमा ३३६ केजीसहित रजत र क्लिनमा १८१ केजीका साथ कास्य पाए ।

यसै गरी काजाकिस्तानका आन्त्रोपोभ एत्रेमले क्लिनमा १८२ केजी र कुलमा ३२३ केजीका साथ कास्य पाए । यस्तै इराकका अल बद्रावी हैदरले स्नाचमा १४७ केजी भार बहनका साथै कास्य पाए ।

सोही तौल समूहको युथमा काजाकिस्तानका आन्त्रोपोभ एत्रेमले स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन स्वर्ण पाए । सो स्पर्धामा इरानका अमिरेजा अस्कारिदुनले स्नाचमा १४० केजी र कुलमा ३०५ केजीका साथ रजत पाए ।

क्लिन एण्ड जर्कमा ओमानका मुर्सद मोहमद अल अजिमीले १६९ केजी भार बहन गर्दै कास्य पाए । उज्वेकिस्तानका खोजिभ अजिमजोनले स्नाचमा १३६, क्लिन एण्ड जर्कमा १६८ र कुलमा ३०४ केजीका साथ कास्य पाए ।

सो विधामा नेपालका विशाल सिंह विष्टले आफ्नो भार बहनमा सुधार गरे । उनले स्नाच, क्लिन एण्ड जर्क र कुलमा ९३, ११८ र २११ केजी तौल भार बहन गरे । यसअघि उनको सातौंँ राष्ट्रिय खेलकुदमा स्नाचमा ८७, क्लिनमा ११० केजीका साथ १९७ केजी भार बहनको रेकर्ड रहेको संघका सहसचिव सञ्जय महर्जनले जानकारी दिए ।

चौरानब्बे केजी तौल समूहको युथमा उज्वेकिस्तानका लियालेखसेन्दरले स्नाच, क्लिन र कुलमा गरी तीन स्वर्ण पाए । उनले १४० केजी, १८९ केजी र कुलमा १८९ केजी भार बहन गरे । यस्तै उज्वेकिस्तानकै सिभाखरोरोभ सैदमुख्तारले स्नाचमा १३४, क्लिनमा १७५ र कुलमा ३०९ केजीका साथ रजत पाए । उक्त स्पर्धामा दुई जनाको मात्र सहभागिता थियो ।

चौरानब्बे केजीमाथिको तौलमा कुलतर्फ कतारका फेरसेलबाखले ३७५ केजी भारका साथ स्वर्ण, उज्वेकिस्तानका लियालेखसेन्दरले ३२९ केजीका साथ रजत र साउदी अरेबियाका अल खजल अलि अहमदले ३२० केजीका साथ कास्य पाए ।

सोही स्पर्धाको स्नाचमा इरानका रेजा विरल भन्दले १६६ केजी भारका साथ स्वर्ण, कतारका फरसेलबाखले १६५ केजीका साथ रजत र साउदी अरेबियाका अल खजल अलि अहमदले १४३ केजीका साथ कास्य पाए ।

यस्तै क्लिन एण्ड जर्कमा कतारका फरसेलबाखले २१० केजीका साथ स्वर्ण, उज्वेकिस्तानका लियालेख सेन्दरले १८९ केजीका साथ रजत र इराकका मालफायोह अब्दुलहुसेनले १७८ केजीका साथ कास्य पाए ।

सो तौलमा पहिलो पटक सहभागिता जनाएका नेपाली जयदी कोजूले स्नाचमा ७८ र क्लिनमा १०० केजी भार बहनका साथ कुलमा १७८ केजी उठाए । उनको सहभागिता नै पहिलो भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी दिए ।

चौरानब्बे केजीमाथिको तौल समूहको युथतर्फको प्रतिस्पर्धाको कुलमा इरानका होसेन साकीले ३४८ केजी भारका साथ स्वर्ण प्राप्त गर्दा इरानकै मोहमद साहबन्दाजले ३२८ केजीका साथ रजत र ताइपेइका लि सेङ लुनले ३२७ केजी भारका साथ कास्य पाए ।

त्यस्तै स्नाचमा १६० केजी भारका साथ इरानका होसेन साकीले स्वर्ण, १४० केजीका साथ ताइपेइका लुनले रजत र १३७ केजीका साथ इरानका मोहमद साहबन्दाजले कास्य पाए ।

यसैगरी क्लिन एण्ड जर्कमा इरानका मोहमद साहबन्दाजले १९१ केजीका साथ स्वर्ण प्राप्त गर्दा साकीले १८८ केजीका साथ रजत र ताइपेइका लुनले १८७ केजीका साथ कास्य पाए ।

Loading...