प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्

काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्।

कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए, ‘इतिहास दुइ चोटि दोहोरिन्छ पहिलो चोटि वियोगान्त रूपमा र दोश्रो चोटि मजाक रूपमा।’

नेकपा नेतृत्वको सरकारलाई ‘डबल सरकार’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ।’

भट्टराईले भनेका छन, ‘एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यतिबेला सोसल डेमोक्र्याट पार्टी (एसडिएफ) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले कम्युनिष्ट पार्टी अफ जर्मनी (केपिडी) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो। त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७–०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी (सिपिआई) को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी सिपिआई–एमएल माथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो। आखिर त्यसको परिणाम के भयो?’ प्रश्नोत्तर शैलीमा भट्टराई भन्छन्, ‘अन्ततः दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो।’

भट्टराइले भनेका छन, ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’

Loading...