ललितपुरस्थित एनसेलको मुख्यालयमा शक्तिशाली बम बिस्फोट, ३ जना घाइते

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु खटिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ । बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

यसैबीच, कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । काठमाडौंका एसपी अशोक सिंहले बम डिस्पोज भएको पुष्टि गरेका छन् ।

त्यस्तै बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...