१९ जना मान्छे मार्ने खतरानाक हत्यारा बाघ चितवनमा फेला पर्याे

चितवन । बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैनन्। हिंस्रक भइहालेमा अकल्पनीय घटना पनि बन्न सक्छ। भनिन्छ, बाघ हिंस्रक भयो भने यसलाई रोक्न सकिँदैन।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ बाघले मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेत लिने गरेको देखिएको छ। तीमध्ये एक बघिनीले १९ जना मान्छे मारेको पत्ता लागेको छ।

सो बघिनी पश्चिम चितवनको कालाबन्जर मध्यवर्ती उपभोक्ता समिति क्षेत्रअन्तर्गतका बस्तीभन्दा केही पर नारायणी नदीको भंगालो र सामुदायिक वन क्षेत्रमा ओहोरदोहोर गर्छे। लगभग १३ वर्षकी बघिनीको पछाडिको देब्रे खुट्टाको एउटा नंग्रा अलि बांगिएको छ। त्यसैले उसलाई ‘नंग्रा बघिनी’ भनिन्छ। सन् २००८ बाट बघिनीले मान्छे मार्न थालेकी हो। सन् २०१६ सम्म उसले मारेका मान्छेको संख्या १९ पुगेको छ।

‘यो बाघ मान्छेको बस्तीमा छिरेको छैन तर जंगल र त्यसवरपर मान्छे भेटेमा आक्रमण गरेर ज्यानै लिने गरेको छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने। लामिछानेले सन् २००७ देखि २०१६ सम्ममा बाघले मान्छे र घरपालुवा जनावरमाथि गरेको आक्रमणबारे अनुसन्धान गरेका थिए।

उनी र चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक कमल गैरेसहित १२ जनाको टोलीले गरेको अनुसन्धानमा सो अवधिमा बाघको आक्रमणमा परेर ४० जनाको ज्यान गएको पत्ता लागेको थियो। तीमध्ये १९ जनाको ज्यान एउटै बाघले लियो। आफ्नो बासस्थानभन्दा बाहिर ननिस्कने तर धेरै मान्छेको ज्यान लिने यो बाघको स्वभाव अरूको भन्दा फरक पाइएको लामिछानेले बताए।

‘खासमा मान्छे बाघको आहारा होइन। घाइते, अशक्त वा बूढो भएर अरू जनावर मार्न नसक्ने भएमा वा आफ्नो वासस्थानबाट अरू वयस्क बाघका कारण धपाइए भाले बाघ सिकार गर्न बस्ती पस्छ। मान्छे र घरपालुवा जनावरमाथि आक्रमण गर्ने गर्छ। ‘तर नङ्ग्रा बघिनीको स्वभाव अलग देखियो’, लामिछानेले भने। यसले नियमितरूपमा अरू जनावरको पनि सिकार गर्छ र वन पनि छाड्दैन तर मान्छे पटकपटक मारेको छ।

सन्तानले पनि मार्‍यो मान्छे

बाघको नियमित अनुगमनका लागि निकुञ्ज र संरक्षणमा सक्रिय संस्थाले क्यामेरा ट्र्यापिङ गरेर फोटो खिच्छन्। सन् २००८ को क्यामेरा ट्र्यापिङका बेलामा नङ्ग्रा बघिनी बच्चासँग रहेको फोटो खिचिएको थियो। सन् २००९ मा मेघौली दिव्यनगर क्षेत्रमा एउटा भाले बाघले मान्छे मार्न थाल्यो। सो बाघलाई नियन्त्रणमा लिइयो। मजुवा भाले नाम दिइएको सो बाघको तस्बिर भिडाएर हेर्दा नङ्ग्रा बघिनीको बच्चासँग मिल्यो।

सो मजुवा भालेलाई चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखिएको थियो। सन् २०१० मा खोरभित्रै सो भालेको मृत्यु भयो। अहिले नवलपरासीको नवलपुर क्षेत्रमा एउटा बाघले ज्यादै दुःख दिएको छ। अनुसन्धान नभए पनि सो बाघ पनि कतै नङ्ग्रा पोथीकै सन्तान पो हो कि भन्ने आशंका भने जन्मिएको छ।

सन् २००४ मा मेघौलीको भगेडीमा एउटा बाघ तीनवटा बच्चासहित बस्तीमा पसेर मान्छेमाथि आक्रमण गरेको थियो। नियन्त्रणमा लिएर रेडियो कलर जडान गरेपछि माउ बाघ मर्‍यो। तीनवटा बच्चामध्ये एउटा मृत फेला पर्‍यो। एउटालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएर खोरमा राख्यो। एउटा बच्चा हराइरहेको थियो। नङ्ग्रा सोही भगेडी पोथीको बच्चा पो हो कि भन्ने आशंका छ। तर अध्ययन भएको छैन।

सजग भए जोगिन सकिन्छ

एउटै बाघले १९ जनाको ज्यान लिए पनि स्थानीयहरू सो बाघप्रति खासै आक्रोशित छैनन्। बस्तीमा नआउने भएका कारण डराउनुपर्ने अवस्था नरहेको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रेविजंग गुरुङले बताए। तर वनक्षेत्रमा पस्दा स्थानीयहरू सजग हुनुपर्ने आवश्यकता उनले औंल्याए। वनक्षेत्रभन्दा केही बाहिरको नदी इलाकामा पनि आक्रमणको डर कायमै छ।

भरतपुर महानगरपालिकाका १७, १८ र २६ नम्बर वडा कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्दछन्। यो समितिको क्षेत्रभित्र छवटा सामुदायिक वन छन्। सो बाघ सामुदायिक वनक्षेत्र भन्दा पनि पर मंगलपुरको ज्ञानेश्वर वनक्षेत्रसम्म ओहोरदोहोर गर्ने गरेको क्यामेरा ट्र्यापिङ गर्दा खिचिएको फोटोबाट पत्ता लागेको छ। नदी क्षेत्रको १७ किलोमिटर दूरीमा यो बाघ ओहोरदोहोर गर्ने गरेको भेटिएको छ।

‘बाघ कहाँ छ भनेर पत्ता लगाउन क्यामेरा ट््यापिङ भरपर्दो माध्यम हो। क्यामेरा ट्र्यापिङ नियमित गर्ने र रेडियो कलरसमेत राखेर सो बाघ हिंड्डुल गरेको क्षेत्र जानकारी लिन सक्ने हो भने जहाँ बाघ छ त्यहाँ नजाऊ है भनेर स्थानीयलाई सजग गराउन सकिन्थ्यो’, अध्यक्ष गुरुङले भने।

नङ्ग्रा पोथीले लामो समयदेखि मान्छेमाथि आक्रमण गर्दै आए पनि बस्तीमा नआउने भएका कारण सजग भए स्थानीयको ज्यान जोगिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका नुरेन्द्र अर्यालले बताए। बस्तीमा नआउने भएका कारण सो बाघलाई नियन्त्रणमा लिन पनि गाह्रो छ। चार वर्षअघि नियन्त्रणमा लिने प्रयास भए पनि सम्भव नभएको अधिकारीहरूले बताएका छन्।

मान्छे नै खाने बाघ ज्यादै कम

चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ छन्। तर सन् २००७ देखि २०१६ सम्मको अवस्था अध्ययन गर्दा तीमध्ये २२ वटा बाघमात्रैले मान्छे र घरपालुवा पशुचौपायाको हानि गरेको भेटिए। जंगलमा रहेकामध्ये पाँच प्रतिशतभन्दा कम बाघले मान्छेलाई दुःख दिने गरेको भेटियो भन्छन् अनुसन्धानकर्ता लामिछाने।

कूल २२ मध्ये मान्छे मार्न पल्केका बाघ (नरभक्षी भएका) सातवटा मात्रै थिए। अरू छवटा बाघले संयोगवश मान्छेलाई आक्रमण गरेको लामिछानेले जानकारी दिए। यसरी १३ वटा बाघले मात्रै मान्छेलाई आक्रमण गरेका थिए। बाँकी छवटा बाघले मान्छेलाई केही गरेनन् तर पटक पटक घरपालुवा जनावर मारेर हानि पुर्‍याएका थिए। तीनवटा बाघ मानवबस्तीमा पसे पनि मान्छे वा घरपालुवा जनावरलाई आक्रमण गरेनन्।

मान्छे तथा जनावरलाई केही नगरे पनि बस्तीमा फेला परेका ती तीनवटा बाघलाई सुरक्षाका कारण नियन्त्रणमा लिनुपरेको थियो। चितवन निकुञ्जको सिमानासँग जोडिएका चितवनसहित मकवानपुर, पर्सा र नवलपरासीमा भएका घटनाहरूको अनुसन्धान गरी तथ्य संकलन गरेको लामिछानेले बताए।

Loading...