नियमित जिम गए यी ५ फाइदा

पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढ्न थालेको छ । कतिपय शरीर बनाउन जिम जाने गरेको पाइन्छ भने कतिपय स्वस्थ रहन पनि धाउने गर्छन् । सहरी क्षेत्रमा शारीरिक व्यायाम गर्ने स्थानको अभावका कारण पनि जिम क्लब धाउनेको संख्या बढेको देखिन्छ । दिनहुँ जिममा कसरत गर्दा हुने फाइदाबारे बडी फिटनेस सेन्टरका प्रशिक्षक राजेश मानन्धर यसो भन्छन् :

स्वस्थ राख्छ
जिम जाने र व्यायाम गर्ने बानीले शरीर बन्ने मात्रै होइन, मानिसलाई स्वस्थ पनि राख्छ । नियमित रूपमा गरिने व्यायाम शरीरमा रहेको अनावश्यक बोसोको मात्रालाई घटाउने काम गर्छ । मुटुरोगको जोखिमलाई समेत नियमित व्यायामले घटाउँछ । त्यस्तै मधुमेह, क्यान्सरलगायत रोग लाग्ने जोखिम केही कम हुन्छ ।

तौल नियन्त्रण गर्छ
सहरी क्षेत्रका मासिहरूमा मोटोपन एउटा जल्दोबल्दो समस्याको रूपमा देखिँदै आएको छ । मोटोपन भएका व्यक्तिका लागि जिम जानु उपयुक्त विकल्प हो । नियमित जिम क्लबमा कसरत गर्दा मोटोपनमा कमी ल्याउन सकिन्छ । यसले शारीरिक अभ्यास बढी हुने भएकाले पसिना धेरै बग्ने र शरीरमा भएको बोसोको मात्रा पसिनाका माध्यमबाट बाहिर पठाई मोटोपन कम गराउँछ । नियमित जिमले थप मोटो बन्नबाट रोक्छ ।

अनावश्यक तनाव कम गर्छ
मानिसमा विभिन्न खाले तनाव हुने गर्छ । यस्ता अनावश्यक तनावलाई नियमित कसरतले घटाउन सकिन्छ । यो विश्वव्यापी मान्यता हो । शारीरिक क्रियाकलापले मस्तिष्कलाई चलायमान बनाउनुका साथै मस्तिष्कका रसयानलाई सक्रिय बनाउन मद्दत गर्छ । यसबाट तनावमा रहेका व्यक्तिलाई खुसी मिल्न जान्छ ।

आनन्दको अनुभूति गराउँछ
जिम जाने व्यक्ति जस्तोसुकै तनावमा भएको वेलामा पनि शारीरिक व्यायाम गरेपछि खुसीको अनुभव गर्छ । तनावमा रहेका व्यक्तिलाई उपचार गराउन जाँदा चिकित्सकले समेत औषधि उपलब्ध गराउनेभन्दा शारीरिक व्यायामतर्फ केन्द्रित हुुन सल्लाह दिन्छन् । जिम गएर नियमित शारीरिक अभ्यास गर्ने महिला र पुरुषको यौन क्षमता वृद्धि हुने गर्छ ।

आत्मविश्वासमा वृद्धि
जिम गरेर सुन्दर देखिने मात्रै हैन, यसले आत्मविश्वास बढाउने काम पनि गर्छ । सबैभन्दा मुख्य कुरा भनेको निद्रा नपर्ने समस्या पनि युवावर्गमा धेरै भएको पाइन्छ । यस्तो समस्या समाधान गर्न पनि जिम उपयुक्त माध्यम बनेको छ । निद्राको समस्या भएकाहरूले जिममा गएर प्रशस्त अभ्यास गर्नुपर्छ । नियमित शारीरिक अभ्यासले छिटो निद्रा लगाउन मद्दत गर्छ ।

Loading...