ललितपुर प्याट्रियसले जित्यो इपिएलको उपाधि

काठमाडौँ, ७ पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ । भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको छ । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो ।

ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । भैरहवाका लागि प्रदीप ऐरीले ३४, रबी इन्दर सिंहले २९, कुशल मल्लले १६, कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४÷१४ रन बनाएका थिए ।

ललितपुरका ललित नारायण राजवंशीले तीन, पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले ५७, सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भूर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए । भैरहवाका कृष्ण कार्कीले तीन, मोहमद नाभिद र रायन टेन डेसकाटेले समान दुई÷दुई विकेट लिएका थिए ।

विजेता टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । गत मङ्सिर २२ गतेदिख शुरु भई आज समापन भएको प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका थिए ।

Loading...