ला लिगाको शिर्ष स्थानमा फेरि उक्लियो बार्सिलोना, टुंगियो पिएसजीको कीर्तिमानी विजयी यात्रा

काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो ।

लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लस एलेनाले गोल गरे ।

उसमान डेम्बेलेको सहयोगमा ३६ औँ मिनेटमा पिकेले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । खेल सकिन तीन मिनेट बाँकी हुँदा कप्तान मेस्सीको सहयोगमा एलेनाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितपछि १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा एलाभेससँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला एक अंकले पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १–१ को बराबरीमा रोकियो भने रियल बेटिसले रियल सोसिडाडलाई १–० ले हरायो ।

टुंगियो पिएसजीको कीर्तिमानी विजयी यात्रा

उता फ्रेन्च लिगकाे १५ औँ खेलमा आएर पेरिस सेन्ट–जर्मेन (पिएसजी) को विजयी यात्रा टुंगिएको छ । यो सिजन लिगमा लगातार १४ खेल जितेको पिएसजी १५ औँ खेलमा बराबरीमा रोकिएको हो ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी अवे मैदानमा बोर्डक्ससँग २–२ को बराबरीमा रोकिएको हो । पिएसजीका लागि नेइमार र केलियन एमबाप्पे तथा बोर्डक्सका लागि ब्रियाण्ड र कोर्निलियसले गोल गरे ।

नेइमारले ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ५३ औँ मिनेटमा बोर्डक्सका लागि ब्रियाण्डले बराबरी गोल गरे । ६६ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि फेरि पिएसजीले अग्रता लियो ।

तर ८४ औँ मिनेटमा कोर्निलियसले बोर्डक्सका लागि बराबरी गोल फर्काए । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १५ खेलबाट ४३ अंक भएको छ ।

च्यातियाे नेइमारकाे तिघ्राकाे मसल 

खेलमा पिएसजीका स्टार खेलाडी नेइमार चोटग्रस्त भएर मैदानबाट बाहिरिए । ३६ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाएका नेइमार चोटग्रस्त भएपछि मैदानबाट बाहिरिन बाध्य भएका हुन ।

उनको तिघ्रा (थाइ) को मसल च्यातिएको छ । उनी मैदानबाट बाहिरिएपछि उपचार लिएका थिए । २६ वर्षे नेइमारको चोट त्यति गम्भीर जस्तो लाग्दैन । तर अवस्था के हो र उनी कहिलेसम्म मैदान फर्किन सक्छन् भन्ने बारे परीक्षणपछि मात्रै थाहा हुने क्लबले जनाएको छ ।

उनी चोटका कारण केही समय मैदान बाहिर रहेर च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलसँगको खेलमा मैदान फर्किएका थिए । गएको बुधबार भएको खेलमा नेइमारसहितको गोलमा पिएसजीले लिभरपुललाई २–१ ले हराएको थियो ।

Loading...