संस्कृति विकासकालागि पण्डित उत्पादन गर्न शताब्दी पुरुषको अनुरोध

 

 

    कार्तिक १७ ,ललितपुर /  नेवाः समुदायको संस्कृतिको संरक्षण र विकासकालागि बौद्धिक पण्डितहरु उत्पादन गर्नुपर्नेमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीले जोड दिएका छन ।

बिहिवार ललितपुर विकासकालागि समाजको बाह्रौं वार्षिक साधारण सभामा प्रमुख अतिथीका रुपमा उनले सो कुरामा जोड दिएका हुन । “हामीले सम्पदा संरक्षणका नाममा मन्दिर जिर्णोद्धार, नृत्य आदिलाई बढी नै ध्यान दिएका छौं,” उनले भने, “ललितपुर विकासकालागि समाजले पनि ऐतिहासिक बहाः बहीको पुननिर्माणमा थुप्रै कार्य गरिसकेको छ । तर, विशिष्ट पहिचान रहेको नेवाः समुदायको धार्मिक महत्वको दर्शन पक्षलाई जोगाउन सकिएन भने यी सब प्रयास अस्थायी हुने डर रहिरहन्छ । दीगो संरक्षणमा संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र पढाउने संस्कार नयाँ पुस्तामा आउन जरुरी छ ।”

उनले नालन्दा विश्वविद्यालय लगायतका प्रख्यात विश्वविद्यालयमा बौद्ध संस्कृति अध्ययन गराउन सहयोग प्राप्त गर्न सकिने बताउँदै भारतीय राजदूतावास र अन्य दूतावासमा पहल गर्न अनुरोध गरे । युवा पुस्तामा पण्डितहरुको उत्पादनले मात्र नेवाः सभ्यता, धार्मिक लगायत संस्कृतिको महत्व जिवित रहिरहनेमा जोड दिएका थिए ।

समाजका सल्लाहकार उत्तम रत्न धाख्वाले समाजको १२ वर्षको ईतिहासमा गौरवमय उपलब्धि भैसकेको सन्दर्भमा आगामी दिनमा ललितपुरको संस्कृति र हस्तकला केन्द्रित विशेष कार्ययोजना बनाउन सुझाव दिए । वरिष्ठ सल्लाहकार रामलाल श्रेष्ठले पूर्वमन्त्री समेत भइसकेका समाजका अध्यक्ष बुद्धिराज बज्राचार्यको उमेरलाई ध्यानमा राख्दै समाजमा नयाँ पुस्ताको नेतृत्व विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

समाजका सचिव विकास रत्न धाख्वाले वार्र्षिक प्रतिवेदन पेश गर्दै भारतीय राजदूतावासको सहयोग र नेपाल सरकारको नीतिनियममा आएको जटिलताले लक्षित सम्पदा निर्माण कार्यहरुमा ढीलाई भएको जानकारी दिए । नयाँ नीति अनुरुप ललितपुर महानगरपालिकाले २० प्रतिशत स्थानीय लगानीको पुर्ति गर्नेबारे छलफल भइरहेको बताउँदै निकट भविष्यमा ख्वायबहीको लोटस रिशर्च सेन्टर, हःबहास्थित कुमारी निवास र तिछुगल्लीस्थित विश्वकर्मा मन्दिर ४ करोड, ९० लाख ४५ हजार ५ सय ४ रुपैयाको लागतमा बन्ने संकेत दिए । भूकम्प सम्बन्धित योजनाहरुमा हिरण्यवर्ण महाविहार, गुइतबहीको आगम र दिगी, नापीचन्द्र महाविहार, कुमारी पुजा घर, गोपीचन्द्र महाविहार, जेष्ठवर्ण महाविहारको निर्माणकालागि अर्थमन्त्रीसँग पनि वार्ता भैरहेको बताए ।

नापीचन्द्र महाविहारस्थित समाजको कार्यालयमा सम्पन्न १२औं साधारण सभाबाट पूर्वमन्त्री बुद्धिराज बज्राचार्यकैे अध्यक्षतामा ११ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।

नयाँ कार्यसमितिले विधानले दिएको कार्यक्षेत्रमा केन्द्रित भै समाजलाई स्थानीय तह, प्रादेशिक सरकारसँगको सहकार्यमा जिर्णोद्धार र पुननिर्माण कार्यको निरन्तरता दिने सचिव धाख्वाले बताएका छन । त्यस्तै सभाबाट प्राप्त सुझावसँगै पारित गरिएका विभिन्न प्रशिक्षण कार्यक्रम, सम्पदाहरुको प्रदर्शनी तथा मेला, गोष्ठी, ढुंगेधारामा खानेपानीको श्रोत पहिचान र व्यवस्थापन परियोजना लगायत युवाहरुकालागि धार्मिक, साँस्कृतिक सम्बन्धि छात्रवृतिहरु प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।

Loading...