एक वर्षमा ५० हजार विद्यार्थी विदेश पलायन

काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन ।

यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन्। अस्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ।

अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ। वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको छ । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन्।

दोस्रो आकर्षक गन्तव्य जापानका लागि १० हजार चार सय १६ जनाले नो अब्जेक्सन लेटर लिएका छन्। जापानमा भिसा लागिसकेपछि मात्र प्रतिविद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ। जापानका लागि ९५ प्रतिशत आवेदन सफल रहेको कन्सल्टेन्सी व्यवसायीको भनाइ छ। १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको छ।

अमेरिकामा भने भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ। युएसएमा आवेदन शुल्क १६०, सेभिस शुल्क २००, भिसा ग्यारेन्टी भएपछि थप २०० गरी ५६० अमेरिकी डलर लाग्छ। यसरी अमेरिकाको भिसा प्रक्रियामा एक नेपाली विद्यार्थीको ५८ हजार रुपैयाँ खर्च हुने गरेको छ। गत आर्थिक वर्षमा तीन हजार ४८३ जनाले अमेरिकाका लागि नो अब्जेक्सन लेटर लगेका छन्। ती विद्यार्थीको भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको छ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले पढाइसँगै रोजगारीका अवसर पाइने भएकाले वैदेशिक अध्ययनमा आकर्षण बढिरहेको बताए। अस्ट्रेलिया, जापान र अमेरिका जान चाहनेले भिसा आवेदनबापत औसतमा ३० हजार रुपैयाँ बुझाउँछन्। यसरी पनि नेपाली विद्यार्थीको भिसाकै लागि एक वर्षमा एक अर्ब ५२ करोडको हारहारीमा बिदेसिएको छ।

शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर शाखाका अनुसार एक वर्षको अवधिमा ७३ देशका लागि नेपाली विद्यार्थीले पत्र लगेका छन् । भारत जाने विद्यार्थी धेरै भए पनि नो अब्जेक्सन लिनेको संख्या भने कम छ । एक वर्षमा दुई हजार दुई सय नौजनाले भारतका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।

Loading...