जलविरेमा सुख्खा पहिरो जान थालेपछि मुग्लिन सडक अवरुद्ध

चितवन, ३ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो ।

यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको थियो । सोमबार साँझदेखि रोकिएका गाडी पहिरोका कारण आज जान पाएका छैनन् । पहिरो पन्छाउन केही घण्टा लाग्ने जनाइएको छ ।

जिप्रका, चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार असार २५ देखि रातिको समयमा गाडी रोकेर बिहानमात्रै पठाउने गरिएको छ । पहिरोले सबै गाडी रोकिएका छन् ।

ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ ।

पोखराबाट आउने सवारीलाई तनहूँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ ।

यस्तै, चितवनबाट जाने ट्रकलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने गरिएको छ ।

पोखराबाट आउने ट्रकलाई साँझ ७ बजे तनहूँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडाँैबाट आउने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुवै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने गरिएको भए पनि आज भने पहिरोका कारण सबै गाडी रोकिएका छन् ।

Loading...