बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा छनौट, चेल्सी आउट

बार्यन म्यूनिख पनि अन्तिम ८ मा छनौट

काठमाडाैं । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलाेनाले महत्वपूर्ण जित हात पारेकाे छ । यससँगै बार्सिलाेना अन्तिम अाठ अर्थात क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । याे जितमा पनि मेसीले उत्कृष्ट प्रदर्शन गरे ।

बुधवार भएकाे अन्तिम १६ को दोस्रो लेग अन्तर्गत चेल्सीलाई ३–० ले हराउँदै बार्सिलाेनाले क्वाटरफाइनलकाे यात्रा पक्का गरेकाे हाे । घरेलु मैदानमा भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीसँग बार्साले सहजै जित हात पार्याे ।

यसअघि अवे मैदानमा भएको पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा बार्सिलोनासँग राम्रो प्रदर्शन गरेको चेल्सीले अवे मैदानमा भएको दोस्रो लेगमा आफूलाई जोगाउन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

दोस्रो लेगमा बार्सिलोनालाई प्रभावशाली जित दिलाउने क्रममा स्टार स्ट्राइकर लियोनल मेस्सी चम्किए । उनले दुई गोल गरे भने उसमान डेम्बेलेले एक गोल गरे ।

तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । २० औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो ।

यस्तै ६३ औँ मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३–० को जित निश्चित गरेको हो । मेस्सीले यो खेलमा क्लबलाई जित मात्रै दिलाएनन् आफ्ना लागि महत्वपूर्ण आँकडा पनि बनाए । उनले च्याम्पियन्स लिगमा १०० गोल पूरा गरेका छन् । यसअघि पाेर्चुगिच स्टार अर्थात मेसीका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानाे राेनाल्डाेले मात्र च्याम्पियन्स लिगमा १०० गाेल पुर्याएका थिए । अब मेसी पनि १०० गाेल क्लबमा पुगेका छन् । 

बार्यन म्यूनिख पनि अन्तिम ८ मा छनाैट

त्यसैगरी बार्यन म्यूनिख पनि च्याम्पियन्स लिगकाे अन्तिम अाठमा पुगेकाे छ । टर्किस क्लब बेसिक्टासलार्इ पराजित गर्दै बार्यनले क्वाटरफाइनलकाे यात्रा तय गरेकाे हाे । जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख लगातार सातौँ सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने क्लब बनेकाे छ ।

च्याम्पियन्स लिगकाे अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बायर्न म्युनिखले टर्किस क्लब बेसिक्टासलाई ३–१ ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्यन ५–० ले विजयी भएको थियो । अवे मैदानमा धेरै गोल खाएको बेसिक्टासले घरेलु मैदानमा कम गोल खायो भने एक गोल फर्काउन पनि सफल भयो ।

बार्यनका लागि थिएगो एल्कान्तारा र वाग्नरले गोल गरे । यस्तै बेसिक्टासका गोनुलले आत्मघाती गोल गरे । बेसिक्टासका लागि डा सोउजाले एक गोल फर्काए ।

Loading...