चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा

काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने ।

आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दु:ख निकै पाइयो । धेरै पैसा खर्च भयो । दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’

अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् ।

तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने ।

हामीले सम्बन्धित मुलुकसँग सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने, तथ्यांक राख्ने र पीडितका समस्या फुकाउने काम गरिरहेका छौं : डा. अर्जुन कार्की, राजदूत ।

Loading...