एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले राष्ट्रिय राजनीतिमा तरंग मच्चिरहेका बेला नेकपाले गरेको यो निर्णयले अर्को बहस उठाएको छ । एमाले र माकेका बीचको एकतालाई संसदवादी संशोधनवादीहरुबीचको सत्तास्वार्थको एकता भएको बताउँदै सबै क्रान्तिकारी शक्तिहरुकाबीच नयाँ धु्रविकरण अभियान चलाउने नेकपाले निर्णय गरेको हो । साथै नेकपाले एमाले र माकेसँग पार्टी तहमा भने एकता नहुने प्रष्ट पारेकाे छ । ती पार्टीमा रहेका सच्चा क्रान्तिकारीहरुलार्इ कम्युनिस्ट पार्टीमा गाेलबन्द गर्नका लागि याे अभियान सुरु गर्ने निर्णय नेकपाले गरेकाे जनाएकाे छ । 

नेकपाको केन्द्रीय कार्यालयले पठाएको एक प्रेस नोटका अनुसार पहिलो एकता ऋषि कट्टेलको नेतृत्वमा रहेको अर्को नेपाल कम्युनिस्ट पार्टीसँग हुनेछ । साथै मोहन बैद्य किरणको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)सँग पनि एकताको पहल गरिने बताइएको छ ।
नेकपाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग पनि धु्रविकरणका लागि अभियान थाल्ने निर्णय गरेको छ । एमाले र माकेमा रहेका सच्चा क्रान्तिकारीहरुका बीचमा भने ध्रुविकरण गर्न छलफल अन्तरक्रिया अगाडि बढाउने निर्णय केन्द्रीय समितिले गरेको बताइएको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव विप्लवले संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन केन्द्रीय समितिको बैठकले एकमतले पारित गरेको छ । उक्त प्रतिवेदनमा नेपालको वर्तमान राजनैतिक परिस्थितिले क्रान्तिकारी शक्तिहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा ध्रुवीकरणको आवश्यकताको बोध गराएको उल्लेख छ । साथै प्रतिवेदनमा महासचिव विप्लवले सरकारले घोषणा गरेको निर्वाचनलाई खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । यो चुनावले देशमा अराजकता, अस्थिरता, अन्यौलता र द्वन्द्वलाई मात्र बढावा दिने उल्लेख गर्दै त्यो चुनावलाई जनताका सच्चा प्रतिनिधि पार्टी र नेताहरुले खारेज गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सबै क्रान्तिकारीका बीचको ध्रुवीकरण अपरिहार्य आवश्यकता बनेको ठहर बैठकले गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालयले केही सञ्चारमाध्यामले यसलाई बङ्ग्याएर भ्रम उत्पन्न गरेको बताउँदै यो ध्रुविकरण क्रान्तिकारी शक्तिहरुकाबीचको मात्र धु्रविकरण भएको प्रष्ट पारेको छ ।

यसैगरी नेकपाले कात्तिक ७ गते अर्थात् अक्टोबर क्रान्तिको शतवार्षिकी काठमाडौँमा विशाल जनप्रदर्शन र सभासहित सम्पन्न गर्ने निर्णय गरेकाे छ । उक्त सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने बताइएकाे छ । त्यसैगरी बैठकले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने निर्णय पनि गरेकाे छ । त्यस्तै बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान सुरु गर्ने निर्णय गरेको छ ।

Loading...