द फस्ट फाइभ एअर लास्ट फरेभर

सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो ।
हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ ।
यसलाई दुध खान कसले सिकायो ?
मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर आएजस्तो ।
सायद ४–५ कक्षामा पढ्दा होला, एउटा नयाँ कुरा सुनेर त्यस्तै अचम्म लागेथ्यो । त्यसको करिब २/४ वर्षसम्म त हामी केटाकेटीबीच खुबै चर्चाको विषय बनेथ्यो ।
आफू परियो सरकारी स्कूलको विद्यार्थी । अङ्ग्रेजी विषय भनेपछि ज्वरो नै फुट्ने भन्या’ । बल्ल ४ कक्षामा पुगेपछि A, B, C, D कोट्याउन थालेको । त्यसै त कनिकुथी बल्लबल्ल पढ्न लेख्न जान्दै गरेको मान्छे, त्यहाँमाथि अङ्ग्रेजी पढाउने सर झनै कडा । संस्कृतमा शास्त्री गरेका बुढा लटरपटर अङ्ग्रेजी शब्द कनीकुथी बटार्थे, जिब्रो लट्पटाउँदै । Apple मिन्स स्वाट ? (Apple means what ?) थुक उछट्याउँदै जिब्रो बटारेर सोध्थे । सुरुमा त के सोधेको भन्ने केही नबुझिने । टाउको कन्याउँदै सरको मुखको छेउमा कान लगेर आफ्नै स्थानीय मौलिकता प्रदर्शित गथ्र्यौं– हँ ।
सरको पारो तातेर आउँथ्यो । Apple मिन्स स्वाट– झन् ठूलो स्वरले चिच्याउँथे । सरको मुखबाट निस्किएको चित्कारीले कानै फोहोर बनाएर बर्बाद हुन्थ्यो । तर फेरि के सोधेका हुन पत्तै नहुने । फेरि पनि बुझिन भन्न पनि मुखैभरि बर्बाद बनाइदेलान् भन्ने डर । नसोधौं, बुझेको केही होइन– के जवाफ दिने ?
अरु त यस्तै हो, अन्तिमको ‘स्वाट’ भन्ने शब्दको हामी उसबेला तीनवटा अर्थ लगाउँथ्यौं ।
१. मैले सोधेको प्रश्नको उत्तर ‘स्वाट्ट’ भन् ।
२. त्यति पनि जान्दैनस् ‘स्वाँठ’ ।
३. भनिनस् भने लौरोले ‘स्वाँट्ठ’ हान्छु ।
पटकपटक सोध्दा पनि जवाफ नआएपछि बुढा रिसले आगो हुन्थे ।
‘तिमेरु लठूवा हो, त्यति जाबो माने (Meaning) नि भन्न नजान्ने । वाँ अम्रिकाँ चाइने केटाकेटीले फरर अङ्ग्रेजीआँ कुरा गर्चन्”– बुढाले नियमित प्रवचन सुरु गर्थे, आँखा चिम्लेर, धाराप्रवाह ! कहिले संस्कृतका श्लोक त कहिले संस्कृतबाट ठाडो उल्था गरिएका अङ्ग्रेजी जस्तै सुनिने श्लोक । के भन्थे– भगवान जानून ।
तर सरले भनेको एउटा कुरा भने धेरै वर्षसम्म बिर्सन सकिएन ।
कस्तो अचम्म बा, अम्रिकाँ त हामीभन्दा स्याना केटाकेटीले नि फरर अङ्ग्रेजी बोल्न जान्ने रे ।
साँच्ची हो त ?
होइन होला !
हामीलाई चैँ किन न आ होला है ।
केटाकेटी भेट भयो कि बोलिहाल्ने केही प्रचलित संवाद थिए यी । “आखिर किन यस्तो भा’ होला । अम्रिकामा बस्नेलाई चैँ फरर अङ्ग्रेजी आउने हाम्लाई चैँ कोट्याउनै नआउने ।”
पछि कलेजमा पढ्दा पो एकजना विद्वानसँग यसबारे बहस चल्ने क्रममा ‘तँलाई पनि नेपाली फरर्र बोल्न आउँछ नि । तँलाई चाहिँ कसले सिकायो ?” भनेर प्रतिप्रश्न गरेपछि म खिस्स परेथें ।
हो बा, बाछोले दुध खान पनि त्यसरी नै जान्यो । आखिर सिक्ने त वातावरणले पो हो रहेछ त । अमेरिकामा जन्मिएका बच्चाहरु अङ्ग्रेजी वातावरणमा हुर्किए । हामी नेपाली यही परिवेशमा हुर्कियौंँ । अरुको देखेर, सुनेर, नक्कल गरेर नै सिकिँदो रहेछ । हामी पनि इङ्गलेण्ड या अमेरिकामा जन्मिएका भए हामी पनि सानैमा अङ्ग्रेजी भाषामा पारङ्गत बन्ने थियौं । बाहिरको कुरा किन गर्ने ? नेवारी समुदायमा हुर्किएको बच्चाले नेवारी भाषा कसरी सिक्यो त ? के उसलाई शब्दको अर्थ घोकाएर पढाएको हो त ?
बालबालिका हुर्कने वातावरण या परिवेश सिकाइमैत्री बन्यो भने बालबालिकाले प्राकृतिक रुपमा नै सिक्न सक्दारहेछन् । त्यसो भए किन बालबालिकालाई लौरो देखाएर पढाइन्छ त विद्यालयमा ? सरल र सहज ढङ्गमा नै हुने अवस्थामा किन सिकाइ प्रक्रिया जटिल बन्यो त ? रटन्ने पद्धतिले किन प्रश्रय पायो त ? डा. मारिया मोन्टेश्वरीले भन्ने गरेको Inner Self लाई मैले माथिका दुई प्रसङ्गसँग जोडेर हेरें । डा. मोन्टेश्वरीका अनुसार “कुनै पनि बालबालिकामा एक अद्भुत क्षमता लुप्त अवस्थामा रहेको हुन्छ, उपयुक्त वातावरण पाएमा त्यो विस्फोट भएर निस्कन्छ ।” बच्चालाई के कुराले आकर्षित पारिरहेको छ भन्ने कुराको पहिचान गरेर उचित वातावरण सिर्जना गरियो भने बालबालिकाले प्राकृतिक रुपमा नै सिक्दछन् । बालबालिकाको यही अद्भूत क्षमतालाई नै उनले Inner-self भनेकी थिइन् । I never teach my pupils, I only create the environment where they can learn अल्बर्ट आइन्सटाइनको यो भनाइले पनि डा. मोन्टेस्वरीको क्ष्ललभच(कभाि को प्रसङ्गसँग सम्बन्ध राख्दछ । वास्तवमा सिकाइ त एक प्राकृतिक प्रक्रिया नै रहेछ, जुन स्वतः जीवनकालपर्यन्त जारी रहन्छ । मात्र उमेरअनुसारको सिकाइको तीब्रतामा न फरक देखिने हो । तर, माथिका दुवै प्रसङ्गमा उचित वातावरण र सिकाइको अन्योन्याश्रित सम्बन्धको वकालत गरिनुले पनि के पुष्टि गर्छ भने उपयुक्त वातावरणको निर्माणविना सिकाइ व्यवहारिक, प्रभावकारी र अर्थपूर्ण रहन्न ।
सिकाइ प्रक्रिया बच्चा पेटमा रहँदै सुरु भइसकेको हुन्छ । गर्भमा रहँदै बच्चालाई भोकको अनुभव हुन्छ, निन्द्रा–थकानको अनुभव हुन्छ, सङ्गीतको धुन र तालप्रति बच्चा आकर्षित हुन्छन्, जसको स्वभाविक प्रतिक्रियास्वरुप बच्चा पेटमा यताउता चल्मलाउँछ । बच्चा जन्मनासाथ च्याँ–च्याँ रुन्छ, जुन सिकाउँदै नसिकाई बच्चाले व्यक्त गरेको पहिलो भाषिक अन्तक्रिया हो । बढी उज्यालो भएतिर आँखा दौडाउने, आवाज आएको दिशातर्पm टाउको घुमाउनु, रङ्गीचङ्गी खेलौना छुनु र समाउन खोज्नु, कुनै चीजलाई समाएर मुखमा हाल्नु आदि प्रारम्भिक चरणका सिकाइका प्रक्रिया हुन् जुन स्वभाविक र प्राकृतिकरुपमा बालबालिकामा जारी रहन्छन् । बालबालिका स्वभावले नै जिज्ञासु हुन्छन् । उनीहरुको वरिपरिको परिवेश उनीहरुका लागि नौलो हुन्छ र यसको प्रत्येक रहस्य खोतल्न उनीहरु उद्यत रहन्छन् । यही तत्परतालाई सही ढङ्गले सिकाइमा प्रयोग गर्न सकियो भने सिकाइका लागि कहिल्यै बालबालिकामा दबाब सिर्जना गर्नुपर्दैन । उनीहरुमा अन्तर्निीहत लाखौं जिज्ञासा, कौतुहलता र प्रश्नको जवाफ खोज्न उनीहरु हरपल प्रयत्नरत रहन्छन् । कहिले घरको रेडियो फुटाउने, टेलिभिजनको रिमोट खोल्ने, फूलको गमला लडाउने, भित्ताभरि पेन्सिलले कोर्ने, कोठामा मिलाएर राखेका कपडा÷सामानहरु विथोल्ने लगायत कैयौं क्रियाकलाप जसलाई हामी ‘चकचके’ को संज्ञा दिन्छौंँ, यी सबै अनुत्तरित जिज्ञासा र कौतुहलता मेटाउन गरिएका प्रयासहरु हुन् ।
एकजना हितैषीले एकदिन वार्तालापका क्रममा जिज्ञासा राख्नुभयो – “मेरो अढाई वर्षको छोराले फोनमा कुरा गरेर राख्ने बेलामा ‘साले गधा’ भन्छ ।”
“कसरी सिक्यो त त्यो अवोध बच्चाले यस्तो कुरा ?” – उहाँ चकित हुनुहुन्थ्यो । बुझ्दै जाँदा थाहा भयो – बच्चाका पिताले एकजना व्यक्तिसँग आपसी लेनदेनको विषयमा चर्काचर्की परेपछि फोन राख्ने बेलामा गाली गर्दै ‘साले गधा’ भनेको बच्चाले छेउमा बसेर सुनेको रहेछ । त्यो अबोध दिमागले फोन राख्ने बेलामा त्यसो भन्नुपर्ने रहेछ भन्ने ठान्यो ।
हामीले जे गर्छौं, त्यसलाई बालबालिकाले थाहै नपाई नक्कल गरिरहेका हुन्छन् । स्यालको बथानमा हुर्किएको डमरुले बाघलाई देख्यो भने पक्कै पनि प्राणरक्षाका लागि भाग्ने चेष्टा गर्छ । साधुको परिवारमा जन्मिएका बालक रत्नाकर पनि चोरहरुको माहौलमा हुर्किएकाले कुख्यात डाकु बनेका थिए । पछि देवर्षि नारदको सङ्गतले तिनै डाकु रत्नाकर महर्षी बाल्मिकी बनेका हुन् ।
यो सानो उदाहरण मात्र हो । बालबिालका हुर्कने क्रममा यस्ता कैयौं पक्षहरुसँग उनीहरुको साक्षात्कार हुन्छ, जसलाई उनीहरुको जिज्ञासु दिमागले ग्रहण गरिरहेको हुन्छ र त्यसलाई प्रयोगमा ल्याइरहेको हुन्छ । ‘नक्कल’ गर्नु सिकाइको सबैभन्दा ठूलो उपलब्धी हो । साना उमेरका बच्चाहरु ‘भाँडा–कुटी खेलमा रमाउने, चोर पुलिस खेल खेल्ने वा कहिले ड्याडी–ममी वा शिक्षक बन्ने आदि नक्कलद्वारा जारी राखिएका सिकाइका प्रक्रिया हुन् । यस क्रममा उनीहरुले जे देख्छन् वा अनुभव गर्छन, त्यही कुरालाई आपूmमा प्रयोग गरेर हेर्छन् ।
सिकाइका हिसाबले पहिलो पाँच वर्ष मानवजीवनको सबैभन्दा उर्बर र महत्वपूर्ण समय हो । सिकाइका लागि यो उमेर सबैभन्दा संवेदनशील समय हो । बालबालिकाको मस्तिष्कको विकास यो उमेरभित्र पूर्णरुपमा भइसकेको हुन्छ । कुनै पनि कुरा ग्रहण गर्ने या सिक्ने क्षमता यो उमेरमा अन्य समयमाभन्दा कैयौं गुणा बढी हुन्छ । यो उर्बर समयमा बच्चाहरुले सही गलत छुट्टयाउन नसक्ने हुनाले कहिलेकाहीँ गलत सङ्गत, संस्कार वा वातावरणको प्रभावमा नकारात्मक कुराहरु पनि सिक्न सक्छन् । यो प्रति सबैजना संवेदनशील बन्नु आवश्यक हुन्छ ।
मस्तिष्क विकासका हिसाबले ०–५ वर्षको उमेरलाई स्वर्णकाल मानिन्छ । वैज्ञानिक तथा चिकित्सकहरुका अनुसार यो उमेरमा मस्तिष्कभित्र करौडौंको सङ्ख्यामा साना–साना रेसाहरुको निर्माण भइरहेको हुन्छ । यी रेसाहरु एकआपसमा जोडिएर Coil जस्तो आकृतिमा विकसित हुने गर्दछन् । यी रेसाहरुको निर्माण कुन रुपमा र कसरी भएको छ भन्ने कुराले बौद्विकस्तर, स्मरणशक्ति, मस्तिष्कको कार्यक्षमता र समग्रमा सम्पूर्ण शारीरिक क्षमता र विकास कस्तो हुने भन्ने कुराको निर्धारण गर्दछ । मस्तिष्कको विकासका लागि खानपिन, विभिन्न शारीरिक/बौद्विक अभ्यासहरु (जुन मोन्टेश्वरी पद्धतिद्वारा पढाइने विद्यालयमा लागु गरिन्छ) आदिमा ध्यान पु¥याएको खण्डमा बच्चालाई हामीले सोचेजस्तो बनाउन सक्दछौं ।
मानसिक र बौद्विक विकासमात्र नभई सर्वाङ्गीण विकासका हिसाबले ०–५ वर्षको उमेरलाई अति सम्वेदनशील र महत्वपूर्ण मानिन्छ । शारीरिक विकास, भाषिक विकास, संवेगात्मक विकास, सामाजिक विकास आदि यो उमेरमा तीव्र गतिमा देखापर्ने गर्दछन् । तर यो प्रक्रिया बच्चावीच फरक देखिन सक्छ । यद्यपि समग्ररुपमा बालविकासको प्रक्रियालाई अध्ययन गरेर निश्चित आधारहरु बनाइएका हुन्छन् जसलाई Growth milestones भनिन्छ । यी milestones को पर्याप्त जानकारी लिएर आफ्नो बच्चाको विकास कुन रुपमा भइरहेको छ भनेर जान्नु अति आवश्यक कुरा हो । किनकी विकासक्रममा आएको सुस्ततालाई यही समयमा पहिचान गरी आवश्यक कदम चालेको खण्डमा बच्चाको भविष्य उज्ज्वल बन्ने निश्चित छ । ५ वर्षपछि चालिएका कदम प्रभावकारी नहुन सक्छन् मोन्टेश्वरी शिक्षाको आवश्यकता पनि यही कारणले नेपाली समुदायमा बढ्दो छ । बालबालिकाको मनोविज्ञान बारेमा प्रशस्त ज्ञान तथा उचित तालिम पाएका व्यक्तिबाट मात्र प्रभावकारी सिकाइ सम्भव छ । नत्र ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेझैं सिकाइ प्रक्रिया मात्र सुगा रटाइ हुन जान्छ । बच्चाहरुले कसरी सिक्छन् । उनीहरुलाई कुन वातावरण सिर्जना गरिदिने भन्ने कुरामा शिक्षक विद्यालय तथा अभिभावक संवेदनशील बन्नुपर्छ । अनि मात्र सु–संस्कार सहितको सिकाइ सम्भव छ ।
भनिन्छ, यदि देशको भविष्य समोन्नत र समृद्द बनाउनु छ भने त्यस देशका बालबालिकालाई उचित शिक्षा दिनुपर्छ । किनकि, तिनै बालबालिका भविष्यका मेरुदण्ड हुन्, उनीहरुले थापेको काँधले नै देश बोकेको हुन्छ, देशको गोरेटो निर्दिष्ट भएको हुन्छ । यदि काँध धरमरायो भने देशले बाटो बिराउँछ, मेरुदण्ड नै कमजोर भयो भने देश दिशाविहीन बन्छ । अहिले देशमा भएको अराजकता, दण्डहीनता, स्वार्थ, लुछाचुँडी, पदलोलुपता, स्वेच्छाचारिता आदि हामीले दिएको शिक्षा तथा संस्कारमा भएको त्रुटिको परिणति त होइन ? एकचोटि सोचौं त ?
आलोचनावीच हुर्केको बालकले भत्र्सना गर्न सिक्छ,
तनाववीच हुर्केको बालको झैं झगडा गर्न सिक्छ,
अमर्याीदत वातावरणमा हुर्केको बालकले पछुताउन सिक्छ,
सद्भावनावीच हुर्केको बालकले धैर्यवान बन्न सिक्छ,
प्रोत्साहनवीच हुर्केको बालकले आत्मनिर्णय गर्न सिक्छ,
प्रशंसावीच हुर्केको बालकले कदर गर्न सिक्छ,
समानतावीच हुर्केको बालकले न्याय गर्न सिक्छ,
सुरक्षित वातावरणमा हुर्केको बालकले आत्मविश्वास जित्न सिक्छ ।
मित्रतामा हुर्केको बालकले स्नेह दिन सिक्छ ।

Loading...