जर्मनीमा बस्ने बास नै पाएनन ट्रम्पले

बस्ने हाेटेल नपाएपछि श्रीमती मेलानियासँग ट्रम्प पूरै लज्जित

काठमाडौं, २५ असार । जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् । 

ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी पाँच तारे होटेलमा बसेका थिए । तर, ट्रम्पका लागि भने ह्याम्वर्गमा कतै पनि बिलासी पाँच तारे होटेल नभेटिएको कुरालाई निकै चासोका साथ हेरिएको छ । विश्वमा सबैभन्दा उच्च प्रशासनिक प्रणाली र उच्च प्रविधि र चुस्त व्यवस्थापनसहितको सुरक्षा संयन्त्र भनेर दावी गरिएको अमेरिकाका राष्ट्र प्रमुखका लागि ह्याम्वर्गमा किन उचित आवास मिल्न सकेन भनेर विश्वभर चर्चा परिचर्चा भइरहेको छ । अरु देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुले जर्मनी जानुअघि नै होटेल बुक गरेका थिए । उनीहरु सबै ह्याम्वर्ग पुग्नु अघि नै बस्ने होटेलदेखि सबै कुराको सेड्यूल तयार बनाएका थिए । तर, यी सबै कुराबाट राष्ट्रपति ट्रम्प र उनको टिम कसरी चुक्यो भन्ने प्रश्न तेर्सिएको छ । 

ट्रम्प विश्वका निकै धनी राष्ट्र प्रमुख मानिन्छन् । उनी सुनै सुनले सजिएको आफ्नो निजी जहाज, हेलिकोप्टर, कारमा हिड्ने गर्दछन् । विशाल बगैचासहितको उनको भव्य महल पनि निकै सुविधा सम्पन्न छ । कुनै देशको भ्रमण जानु अघि उनका लागि उच्च प्रविधिसहितको ठूलो सुरक्षा संयन्त्र र व्यवस्थापन टिम खटिने चर्चा भइरहन्छ । तर, यसपटकको यो घटनाले ती सबै कुरा फिक्का सावित गरिदिएको छ । यसबाट उनी कति अव्यवस्थित र हल्का रहेछन् भन्ने कुरा पनि झल्किएको छ । यसबाट अमेरिकाकै बेइज्जत भएको टिप्पणी पनि मिडियामा सुरु भएको छ । 

गल्ती कसको ?

आफ्ना राष्ट्रपतिले जी २० शिखर सम्मेलनमा व्यवस्थित र सुविधा सम्पन्न होटेल नपाएपछि ह्वाइट हाउस प्रशासनले यसको छानविन समेत गरेको छ । प्रारम्भिक छानविनबाट ह्वाइटहाउस प्रशासनले यसको गल्ती अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई दोषी ठहर्याएको छ । आउने नयाँ राष्ट्रपतिका लागि यस्ता ठूला कार्यक्रम र भ्रमणको व्यवस्थापन र त्यसबारे आउने सबै कुरा अघिल्लो राष्ट्रपतिको प्रशासनले नै गर्ने चलन अमेरिकामा रहेको छ । ओबामा प्रशासनले यस वर्ष ह्याम्वर्गमा हुने जी २० शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिका लागि होटेल बुकिङ गर्नुपर्ने थियो । तर, ओबामा प्रशासनले आफ्नो देशका प्रतिनिधिका लागि कुनै होटेल बुकिङ नगरेको अहिले ह्वाइट हाउस प्रशासनले पत्ता लगाएको छ । 

ओबामा प्रशासनले कुनै होटेल बुकिङ नगरेको भए पनि वर्तमान ट्रम्प प्रशासनले किन होटेल बुकिङ गरेन त ? भन्ने प्रश्न पनि उठेको छ । राष्ट्रपति ट्रम्पका लागि ह्याम्वर्गमा बस्नेदेखि सम्मेलन अवधिभरको सेड्यूल र फर्कने समयतालिका उनको प्रशासनले तयार गरेको थियो वा थिएन भन्ने प्रश्न पनि उठेको छ । बस्ने होटेलको टुङ्गो नै नलागेर राष्ट्रपति ट्रम्प र उनको टिम कसरी ह्याम्वर्ग पुग्यो ? भन्ने प्रश्न पनि उठेको छ । 

राष्ट्रपति ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्पसँगै ह्याम्वर्ग पुगेका थिए । पोल्याण्ड हुँदै जर्मनी पुगेको ट्रम्पले पोल्याण्डमा एक कार्यक्रममा सहभागी भएर भाषण पनि गरेका थिए । जी २० शिखर सम्मेलनमा छलफल हुने विषयवस्तुबारेमा उनले पोल्याण्डमा दिएको भाषणले संसारभरका मिडियामा चर्चा पनि पाएको थियो । 

ह्याम्वर्ग पुगेपछि जब ट्रम्पका लागि बस्ने कुनै होटेल बुकिङ छैन भन्ने थाहा भयो, त्यसपछि उनी केहीबेर अक्क न बक्क परे । ट्रम्पले सुरुमा आफ्ना लागि ह्याम्वर्गकै सबैभन्दा महङ्गो होटेल ‘फोर सिजन’मा कोठा खोज्न लगाएका थिए । तर, त्यो होटेल साउदी अरबका राजा सलमानले पूरै एक्लै बुक गरिसकेको थाहा पाएपछि उनी निरास बनेका थिए । त्यसपछि उनले आफू ह्याम्वर्गमा नबस्ने बरु बर्लिनमा जाने बताए । १८० माइल टाढा रहेको बर्लिनबाट भोलिपल्ट हेलिकोप्टरमा आउने आफ्नो टिमलाई बताएका थिए । त्यसपछि उनले भनेको बर्लिनको होटेलमा पनि उनको टिमले बुझेको थियो । तर, त्यो होटेल पनि बुक भइसकेको जवाफ ट्रम्पलाई दिइएको थियो । ट्रम्पका लागि होटेल बुकिङ नभएको र उनी अलमलमा परेको समाचार स्थानीय मिडियामा सनसनी भएको थियो । त्यसपछि त्यसबारेमा पत्रकारले सोधेको एक प्रश्नमा जर्मनीका एक सुरक्षाकर्मीले ‘त्यसलाई स्वीकार गर्दै राष्ट्रपति ट्रम्पका लागि होटेलको खोजी भइरहेको’ जानकारी दिएका थिए । 

ह्याम्वर्गमा कतै पनि उच्चस्तरका सुविधा सम्पन्न होटेल नभेटिएपछि ट्रम्प र उनको टिमलाई आयोजक राष्ट्र जर्मनीले ह्याम्वर्ग संसदको गेष्ट हाउसमा पु¥याएको थियो । 

राष्ट्रपति ट्रम्पले श्रीमती मेलानिया र अाफ्नाे टिमका साथ रात बिताएकाे ह्याम्वर्ग संसदकाे गेष्ट हाउस

कुन देशका राष्ट्रप्रमुख कहाँ बसे ? 

ह्याम्वर्गमा दुई वटा सबैभन्दा महङ्गा र चर्चित ठूला होटल छन् । पार्क ह्याट र फोर सिजन नामक ती दुई वटा होटेल पहिल्यै बुकिङ भइसकेका थिए । पार्क ह्याटमा रसियन राष्ट्रपति भ्लादमिर पुटिनका लागि बुक गरिएको थियो । त्यस्तै अर्को चर्चित होटेल ‘फोर सिजन’मा साउदी अरबका शेख सलमानले पूरै होटेल एक्लै आफ्ना लागि बुक गराएका थिए । 

जी २० का अन्य सदस्य राष्ट्रका शीर्षस्थ नेताहरुले पनि ह्याम्वर्ग पुग्नु अघि नै ठूला बिलासी होटेल बुक गरेका थिए । जी २०का सदस्य देशका प्रमुखहरु सबै चर्चित पाँच तारे होटेलमै बसे । रसियन राष्ट्रपति भ्लादमिर पुटिन र उनको टिम अगाडि नै बुक गरिएको ‘पार्क ह्याट’मा बसेका थिए । त्यसैगरी बेलायतकी प्रधानमन्त्री थेरेसा मे र उनको टिम ‘ले मेरिदीन’ होटेलमा बसेका थिए । चीनका राष्ट्रपति सी जीनपिङ ‘ग्रान्ड ईलाइसी’मा बसेका थिए । भारतका प्रधानमन्त्र मन्त्री नरेन्द्र मोदी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउ, जर्मन चान्सलर एंजेला मार्केल ‘एटलान्टिक केम्पिन्स्की’ होटेलमा बसेका थिए । त्यसैगरी टर्कीका राष्ट्रपति ईर्दोगान समेत होटेल ‘सोफीटेल’ बसेका थिए । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र नर्वेका प्रधानमन्त्री ‘एर्ना सोल्बर्ग मोभेन्पिक’ होटेलमा बसेका थिए । साउदी अरबका शेख सलमान सबैभन्दा महङ्गो होटेल ‘फोर सिजन’ एक्लै बुक गरेर बसेका थिए । 

राष्ट्रपति ट्रम्पलाई संसद भवनको गेष्ट हाउसमा सुत्न बाध्य किन पारियो भनेर बिभिन्न देशका पत्रकारहरुले उनका प्रवक्तालाई प्रतिक्रिया लिन खोजेका थिए । तर, ट्रम्पका प्रवक्ताले यस विषयमा जवाफ दिनै इन्कार गरे । उनी पनि यसबाट निकै लज्जित देखिएका थिए । 

जी २० शिखर सम्मेलनका लागि संसारभरबाट ९ हजार भन्दा बढी नेता, कुटनीतिज्ञ र पत्रकारहरु पुगेका थिए । ती सबैले ह्याम्वर्गकै होटेलमा बास पाए । तर, ट्रम्पले भने त्यत्रो सहरमा आफ्ना लागि एउटा कोठा पनि पाउन सकेनन् । कतै होटेलमा बास नपाएपछि संसद भवनको गेष्ट हाउसमा श्रीमती मेलानियासँग रात बिताउनु परेपछि उनी निकै खिन्न देखिएका थिए । 

एकातिर होटेल नपाएर खिन्न भएका ट्रम्प भोलिपल्ट शिखर सम्मेलन सुरु भएपछि झनै निरास बने । जहाँ उनले आफ्नो सम्वोधन गरेपछि अरु वक्ताहरुबाट लगातार आलोचना पाइरहे । 

 

यो पनि हेर्नुहोस् 

जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियाे अमेरिका

 

 

Loading...