
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको पुस्तक ‘१०० वर्षपछिको भक्तपुर’ लाई मार्गनिर्देशन मानेर नगरपालिकाले काम गरिरहेको बताएका छन् । परम्परागत औद्योगिक सम्पदा : परम्परादेखि नवप्रवर्तन सम्म’ अन्तरसंवादको समीक्षा कार्यक्रममा उनले सोकुरा बताएका हुन् ।
पुस्तकमा भनिए झैं भक्तपुरमा मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख प्रजापतिले प्रष्ट पारे । “घिन्ताङघिसी प्रतियोगिता, योमरी उत्सव र भक्तपुर महोत्सव लगायतका गतिविधि यसैका लागि हो ।” उनले भने ।
भक्तपुरको एउटा सम्पदासंग सिङ्गो एउटा इतिहास जोडिएको जानकारी दिँदै उनले सयौं सम्पदा सम्मिलित भएर भक्तपुर जीवित संग्रहालयको रुपमा रहेको उल्लेख गरे ।
नगरपालिकाले कास्ठकला, धातुकला, मुकुण्डो बनाउने तालिम र युवालाई परम्परागत उद्यमशीलता कर्जाको ब्यवस्थाबाट सम्पदाको संरक्षण र स्थानीयको आयाअर्जन वृद्धिलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
स्थानीय मौलिक सम्पदालाई राष्ट्रिय सूचीकरणमा समावेश गराउने क्रममा जुजुधौ, तःकाः तपुली, कवाङचा प्याखं, घाँतु म्ये, कसिमला पाय्लाई जस्ता मौलिक परम्परा तथा उत्पादनलाई सूचीकरणको प्रक्रिया अघि बढाइएको उनले बताए ।
नगर प्रमुख प्रजापतिले स्थानीय उत्पादन र परम्परागत उद्योगको संरक्षण तथा प्रवद्र्धनका लागि विदेशी वस्तुको अनियन्त्रित आयात रोक्ने अथवा, स्वदेशी उत्पादन टिक्नेगरी कर लगाउनुपर्नेमा जोड दिए । त्यस्तै, मौलिक उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, सहुलियतपूर्ण कर्जा तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता समेत औल्याए ।
कार्यक्रममा राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठले भक्तपुरले आफ्नै ‘संस्कृती नीति’ सार्वजनिक गर्नुपर्नेमा जोड दिइन भने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख नवराज अधिकारीले सांस्कृतिक सम्पदाको मौलिकता जोगाउनुपर्नेमा जोड दिए ।
भक्तपुर उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले स्थानीय उत्पादन र उद्यमसँग सम्बन्धित आर्थिक गतिविधि व्यावसायिक, प्रतिस्पर्धी र बजारमुखी बनाउनुका साथै कानुन बमोजिम दर्ता गर्न र पेटेन्ट राइट लिन सुझाव दिए ।
सामाजिक अभियन्ता एवं उद्यमी अनिल चित्रकारले मूर्त र अमूर्त सम्पदाबीच सन्तुलन ल्याउनुपर्ने बिचार व्यक्त गरे । भक्तपुरमा पर्यटक कति आए भन्दा पनि कति समय बसे र खर्च कति गरे भन्ने आधारमा पर्यटनको सफलता मापन गर्नुपर्ने उनको भनाइ छ ।
अर्का उद्यमी नीलकृष्ण ताम्राकारले धेरै परम्परागत उत्पादन लोप भएका र कतिपय लोप हुने अवस्थामा पुगेको भन्दै तिनलाई पुनर्जीवन प्रदान गर्नुपर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा ख्वप कलेजकी प्राध्यापक सुनिता गाइसी, बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, स्टोरी साइकलका सौरभ ढकाल लगायतले पुराना पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरणले मात्र नवप्रवर्तन सम्भव हुने र भक्तपुरको इतिहासलाई जिवित बनाइराख्ने बताए ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘गो लोकल’ कार्यक्रम’ अन्तर्गत १५ वटा मौलिक उत्पादनलाई सूचीकृत गरी नवप्रवर्तनमा जोड दिइएको जानकारी दिए ।‘
अभियानका संयोजक वीरेन्द्र जतिले स्थानीय उत्पादन, परम्परागत सीप, मूर्त तथा अमूर्त सम्पदाको संरक्षणका तीनै तहको सरकारको उत्तिकै ध्यान पुग्नुपर्ने बताए ।
ऐतिहासिक एवं पुरातात्त्विक नगर भक्तपुरमा बार्षिक करिब
दुई लाख पचास हजार बाह्य पर्यटक आउने गरेका छन् । यहाँका रैथाने उत्पादनको बिश्वबजारमा समेत राम्रो माग रहेको छ ।







