कप्तानगन्ज घटनाका अर्का घाइते पनि रहेनन्

सुनसरी । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा केही दिनअघि भएको घटनामा गम्भीर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ।

काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत मेहताको मंगलबार बिहान मृत्यु भएको हो ।

रबिन्द्रको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि जयप्रकाश मेहता र ओमप्रकाश मेहताले पनि सोही घटनामा ज्यान गुमाएका थिए।

घटनापछि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएको थियो। त्यसपछि यसअघि मृत्यु भएका दुई जनाको अन्त्येष्टि गरिएको थियो।

उपचारकै क्रममा रबिन्द्रको पनि निधन भएपछि कप्तानगन्ज क्षेत्र पुनः शोकमा डुबेको छ।