धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए ।
उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए । गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौँ लिएका थिए ।
उनको सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै मृत्यु भएको बिष्टले बताए । उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।







