काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एमबीएस प्रथम सेमेस्टरको अर्गनाइजेश्नल विहेवियर (MGT 515) विषयको परीक्षामा परीक्षार्थीका रूपमा सहभागी नभएका एक व्यक्तिले ह्वाट्सएप मार्फत प्रश्नपत्र प्राप्त गरी उत्तर लेखेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली, चौधरी गाउँपालिका–११ स्थायी वतन भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बस्ने २३ वर्षीय सन्दीप सिंह रहेका छन्।
प्रहरीले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेको जनाएको छ। सीआईबीका अनुसार उक्त विषयको परीक्षा बाँकी नै रहेकाले परीक्षामा समेत गैरकानुनी क्रियाकलाप हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले परीक्षामा अनियमितता तथा गैरकानुनी गतिविधिमा संलग्नता पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







