काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ ।
बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको हो।
साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशीको बाढीले सडक भत्काएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।
‘अहिले राजमार्ग खुलाउनको लागि पालिका, सडक विभाग, खिम्ती जलविद्युत् आयोजनाका प्रतिनिधि, वडा अध्यक्ष र प्रहरी प्रतिनिधिको बैठक बसिरहेको छ । वैकल्पिक सडक खुलाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ,’ डिएसपी लामाले भने ।







